काठमाडौं । जेन–जी आन्दोलनपछिको अस्थिरताका कारण नइ एकेडेमीले आयोजना गर्न लागेको ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ स्थगित भएको छ।
नइले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भदौ २३ र २४ गते देशमा घटेका अकल्पनीय र कारुणिक घटनापछि हामी स्तब्ध भएका छौं। त्यसैले सम्मेलनको मिति केही समयका लागि सारिएको छ।”
सम्मेलनका लागि नेपाल र भारतका विश्वविद्यालयका २५ जना प्राध्यापकले आफ्ना अनुसन्धानपत्र पठाइसकेका छन्। दुई दिने सम्मेलन महासमालोचक प्रा. वासुदेव त्रिपाठीको नेतृत्वमा आयोजना हुने तयारी थियो। संयोजक प्रा. महादेव अवस्थी र सल्लाहकार प्रा. केशव सुवेदी हुन्।
करिब ३५ लाख रुपैयाँ लागतमा आयोजना हुने यो सम्मेलन नइ एकेडेमीको आफ्नै स्रोतबाट सञ्चालन हुने बताइएको छ। सम्मेलनमा सहभागी सबैलाई ‘नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’ शीर्षकको ८७२ पृष्ठको बृहत् ग्रन्थ नि:शुल्क वितरण गरिनेछ।


