EduPress
'

लिडोले दियो अनाथ र अपाङ्ग विद्यार्थीहरूलाई ८० लाखको छात्रवृत्ति

Author Image
बिहिवार, कार्तिक २०, २०८२
Text Size:

कपिलवस्तु । विद्यालय शिक्षा सहज र पहुँचयोग्य बनाउन लुम्बिनी एकीकृत विकास संस्था (लिडो) ले अनाथ र अपांग विद्यार्थीहरूलाई ८० लाख रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको छ।

कतार च्यारेटीको सहयोगमा सञ्चालित सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जिल्लाभरका ४८० विद्यार्थीहरूलाई उक्त छात्रवृत्ति प्रदान गरिएको हो। लिडोकी कार्यकारी निर्देशक सुनिता बेल्बासेका अनुसार हालसम्म ३०५ अनाथ र अपांग विद्यार्थीलाई छात्रवृत्ति वितरण भइसकेको छ।

तीनदेखि १८ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई न्यूनतम पाँच हजार ६६१ रुपैयाँदेखि अधिकतम १६ हजार ९८४ रुपैयाँसम्मको छात्रवृत्ति रकम प्रदान गरिएको छ। त्रैमासिक रुपमा वितरण हुने यो कार्यक्रममार्फत कुल ८० लाख १० हजार ४४२ रुपैयाँ वितरण गरिने जनाएको छ।

छात्रवृत्ति वितरण कार्यक्रममा जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बावुराम आचार्य, शिक्षा विकास तथा समन्वय इकाईका अधिकृत अर्जुन कुँवरलगायतको उपस्थिती थियो।

कार्यक्रममा समन्वय प्रमुख आचार्यले छात्रवृत्ति कार्यक्रमले विद्यालयमा विद्यार्थीको पहुँच र शैक्षिक उपलब्धि बढाउन ठुलो सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। “गरिबीका कारण पढाइ बीचमै छोड्ने विद्यार्थीहरूका लागि यस्तो सहयोग निकै उपयोगी छ,” उनले भने, “गरिब र विपन्न विद्यार्थीहरूलाई स्थानीय तहले पनि प्राथमिकताका साथ सहयोग गर्नुपर्छ।”

लिडोले विगत लामो समयदेखि अनाथ र अपांग विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गर्दै आएको कार्यक्रम संयोजक रामनरेश चौधरीले जानकारी दिए। छात्रवृत्ति पाएका विद्यार्थीहरूले प्राप्त सहयोगले अध्ययनमा सहजता र आत्मविश्वास बढाएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खबर