नवलपुर । विद्यालयस्तरबाटै फुटबल प्रतिभा विकास गर्ने उद्देश्यसहित पूर्वी नवलपरासीका २१ वटा सामुदायिक विद्यालयलाई फुटबल वितरण गरिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को ‘फुटबल फर स्कुल’ कार्यक्रमअन्तर्गत प्रत्येक विद्यालयलाई २०–२० वटा फुटबल हस्तान्तरण गरिएको जिल्ला फुटबल संघ नवलपुरका कार्यवाहक अध्यक्ष मेघराज पाण्डेले जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले विद्यालयका प्रतिनिधिहरूलाई फुटबल हस्तान्तरण गर्दै विद्यालय तहबाटै फुटबलप्रति बालबालिकाको आकर्षण बढाउने र खेलकुद संस्कृति विस्तार गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको बताए।
यो अभियानअन्तर्गत देशभरका ७७ जिल्लाका करिब १ हजार ७२ विद्यालयमा २५ हजारभन्दा बढी फुटबल वितरण गरिने एन्फाले जनाएको छ। उक्त कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा सञ्चालन भइरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुनले जानकारी दिए।


