EduPress
'

प्राविधिक शिक्षालयमा विद्यार्थी अभाव, सञ्चालनमै चुनौती

Author Image
मङ्गलवार, कार्तिक २५, २०८२
Text Size:

गुल्मी । गाउँमै प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले स्थापना गरिएको इस्मा गाउँपालिका–५ स्थित जीवराज आश्रित बहुप्राविधिक शिक्षालय विद्यार्थी अभावका कारण सञ्चालनमै कठिनाइमा परेको छ।

शिक्षालय २०७६ सालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गत स्थापना गरिएको हो। तीन वर्षे डिप्लोमा इन जियोमेटिक्स इञ्जिनियरिङ कार्यक्रम सञ्चालन गर्दै आएको शिक्षालयमा प्रत्येक सेमेस्टरमा ४८ विद्यार्थीको कोटा रहे पनि हालसम्म भर्ना संख्या क्षमताको एकचौथाइभन्दा पनि कम छ।

स्थापना भएको दुई वर्षपछि, सन् २०७७ बाट भर्ना खुला गरिएको थियो। शिक्षालयका प्रमुख प्रदीपराज पाण्डेका अनुसार २०७७ मा १८, २०७८ मा १३, २०७९ मा १५, २०८१ मा १२ र २०८२ मा हालसम्म सात जना विद्यार्थी मात्र भर्ना भएका छन्। २०८० को सत्रमा भने विद्यार्थी अभावकै कारण शिक्षालयले पठनपाठन नै रोक्नु परेको थियो।

छ वर्षको अवधिमा २८८ विद्यार्थी भर्ना गर्ने क्षमता रहेको शिक्षालयमा हाल जम्मा ६५ विद्यार्थी मात्र अध्ययनरत छन्, जस मध्ये १८ जनाले अध्ययन बीचमै छाडेका छन्।

शिक्षालयमा हाल एक जना अधिकृतस्तरका प्रशिक्षक, दुई जना सहायक प्रशिक्षक, र प्रशासनिक तथा सहयोगी गरी सात जना कर्मचारी कार्यरत छन्। गुल्मीका साथै हुम्ला, जुम्ला, मुगु, बाजुरा, जाजरकोट र रुकुम पश्चिमजस्ता दुर्गम जिल्लाका विद्यार्थी पनि यहाँ अध्ययनका लागि आउने गरेका छन्। तर, शिक्षालयमा आवश्यक पूर्वाधार, छात्रावास र शैक्षिक वातावरणको अभाव मुख्य समस्या बनेको शिक्षालय प्रमुख पाण्डे बताउँछन्।

“भौगोलिक कठिनाइका कारण विद्यार्थी यहाँ बस्नसमेत असहज हुन्छन्,” पाण्डे भन्छन्, “अधिकांश विद्यार्थीहरू कच्ची घरमा महँगो भाडा तिरेर बस्न बाध्य छन्।”

इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काका अनुसार विद्यार्थी संख्या बढाउनका लागि पालिकाले हालका आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रममा प्राविधिक शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीलाई पूर्ण छात्रवृत्तिको व्यवस्था गरेको छ। साथै, शिक्षालयका भौतिक संरचना निर्माणका लागि संघीय सरकारबाट रु ३ करोड बजेट विनियोजन गरिएको उनले जानकारी दिए।

स्थानीय तह र संघीय सरकारको सहयोगपछि पनि शिक्षालयमा विद्यार्थी आकर्षण बढाउन चुनौती कायमै रहेको छ। पूर्वाधार र आवासीय सुविधा सुधार नगरेसम्म गाउँमा प्राविधिक शिक्षा स्थायित्व पाउन कठिन हुने शिक्षाविद्हरूको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खबर