- जगत वाशिष्ठ
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आयोजक नेपाल क्रिकेट संघ (क्यान) र त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय, त्रिवि विश्वविद्यालय क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनबीच ६ बुँदे सम्झौता भएको छ ।
सोमवारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु भएको एनपीएलको दोस्रो संस्करणबाट त्रिविमा अध्ययन गर्ने विद्यार्थी र त्रिविको पठन पाठनमा प्रभाव पर्ने भन्दै आवाज उठेपछि यसका बारेमा छलफल भइ ६ बुँदे सहमति भएको हो । साथै सम्झौता पालना गर्नका लागि २ बुँदे प्रतिवद्धतामा पनि हस्ताक्षर भएको छ । सम्झौतामा विश्वविद्यालयको अध्ययन अध्यापनमा असर पर्न नदिने, महिला छात्रावासको सुरक्षाको लागि काँडेतार लगाउने, त्रिविका विद्यार्थीहरुको कल्याणका लागि लिगबाट हुने नाफाबाट २५ लाख रकम विश्वविद्यालयका विभिन्न निकायलाई दिइने उल्लेख गरिएको छ ।
लिगका अवधिभर विश्वविद्यालयको अध्ययन अध्यापनमा असर पर्न नदिन त्रिविको मूल गेटदेखि आँखा अस्पतालसम्मको भित्रीबाटोमा पार्किङ नगरिने सहमति भएको छ । लिगको आयोजकले खेल अवधिभर पार्किङको वैकल्पिक व्यवस्था गर्ने पनि सहमति गरिएको छ ।
त्यसैगरी त्रिवि क्रिकेट मैदानको पश्चिम तर्फ रहेको ईश्वरी कन्या छात्रावास (क र ख) मा रहने विद्यार्थीहरुलाई सुरक्षाको पत्याभूत गर्न काँडेतारले घेर्ने सहमति पनि भएको छ ।
कार्तिक २९ गते सोमबार भएको सम्झौताको पहिलो बुँदामा एनपीएलका कारणले विश्वविद्यालय क्याम्पसको अध्ययन अध्यापनमा पर्न जाने शैक्षिक तथा प्रशासनिक असरलाई मध्यनजर गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग २०२५ को आयोजनामा प्राप्त हुने नाफाको पन्ध्र लाख रकम त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याणकारी कोषमा जम्मा गर्ने सहमति गरिएको छ ।
त्यस्तै रंगशाला वरिपरिको पारिस्थितिकीय प्रणालीलाई पर्न जाने असरलाई न्यूनिकरण गर्न, वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापन तथा प्राकृतिक पुनर्जागरणका लागि लिगबाट हुने कूल नाफाबाट दस लाख रकम विश्वविद्यालय क्याम्पस स्ववियुको कोषमा जम्मा गर्ने सहमति गरिएको छ ।
त्यस्तै विद्यार्थीहरुको उद्यमशीलता प्रवद्र्धन तथा बजारिकरणका लागि विश्वविद्यालयका विद्यार्थीहरुलाई आयोजना क्षेत्रभित्र स्टल राख्न दिने सहमति पनि गरिएको छ ।
त्यसैगरी विश्वविद्यालयले एनपीएललाई सफल बनाउन प्रतियोगिता अवधिभर व्यवस्थापनमा सहयोग पुर्याउने सहमति गरिएको छ ।
सम्झौता पत्रमा दुई बुँदे प्रतिवद्धता पनि उल्लेख गरिएको छ । जसमा दुबै पक्षले सम्झौतामा उल्लेखित शर्तहरुको कडाइका साथ पालना गर्ने र कुनै विवाद उत्पन्न भएमा त्यसको न्यायिक निरुपण गरिने उल्लेख गरिएको छ । त्यस्तै सम्झौतमा उल्लेख गरिए वमोजिमको रकम लिग सम्पन्न भएको तीन महिनाभित्र पूरा गरिसक्ने उल्लेख गरिएको छ ।
सम्झौतामा प्रथम पक्षका तर्फबाट त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक डा. दिपेन्द्र पराजुली र त्रिवि क्याम्पस स्ववियु अध्यक्ष दिपक राज जोशी र दोस्रो पक्षका तर्फबाट नेपाल क्रिकेट संघ (CAN) का सचिव पारस खड्का र केन्द्रीय सदस्य श्रीधर केसीले हस्ताक्षर गरेका छन् ।



