EduPress
'

छात्रा बलात्कारको विषय चर्कदै गएपछि प्रअले दिए राजिनामा

Author Image
मङ्गलवार, मंसिर २, २०८२
Text Size:

पोखरा । पोखराको सिर्जना बहिरा माध्यमिक विद्यालयका प्रधानाध्यापक सुनिल भण्डारीले पदबाट राजिनामा दिएका छन् । विद्यालयकै एक छात्रामाथि जवरजस्ती करणी भएको र त्यसमा विद्यालयकै एक विद्यार्थीलाई षड्यन्त्रपूर्ण तरिकाले फसाइएको भन्दै लामो समयदेखि विवाद बढ्दै गएर समाधान गर्न नसकेपछि प्रधानाध्यापक भण्डारीले पदबाट राजिनामा दिएका हुन् ।

बहिरा विद्यालयमा केही महिनाअघि विद्यालयका एक छात्रमाथि जबरजस्ती करणीको आरोप लागेको थियो। ती विद्यार्थीमाथि त्यही विद्यालयकी एक बहिरा छात्रामाथि जबर्जस्ती करणी गरेको आरोप लगाइएको थियो । आरोपित विद्यार्थी हिरासतमा समेत परेका थिए। तर कास्की जिल्ला अदालतले प्रमाण नदेखिएको भन्दै उनलाई सफाइ दिएको थियो । अदालतको निर्णयपछि अभिभावक र विद्यार्थीले ‘निर्दोषलाई फसाइयो’ भन्दै आन्दोलन थालेका हुन्। अदालतले उनलाई निर्दोष ठहर गर्दै सफाइ दिएपछि विद्यार्थीले उनीमाथि षड्यन्त्र गरिएको बताएका हुन । ती विद्यार्थीका अभिभावकले विद्यालयमा व्याप्त भ्रष्टाचार र राजनीतिक पहुँचका कारण आफ्नो छोरालाई फसाइएको आरोप लगाएका छन् ।

ती विद्यार्थीले न्याय पाए पनि अन्य विद्यार्थीहरूमा ‘भोलि हामीलाई पनि फसाइन्छ कि’ भन्ने त्रास पैदा भएकोले आन्दोलन थालेको बताउँछन् । आन्दोलनमा उत्रेका विद्यार्थीहरूको मुख्य माग प्रधानाध्यापक सुनील भण्डारीसहित पाँचजना शिक्षक तथा कर्मचारीलाई सरूवा गरी कारबाही गर्नु पर्ने रहेको छ ।

विद्यालयका विद्यार्थीहरुले प्रअ भण्डारी, सहायक प्रअ र केही शिक्षकहरुको वर्खास्थीको माग गर्दै कार्तिक २४ गतेदेखि पुनः आन्दोलन थालेका थिए । पोखरा महानगरपालिकाका वडा नं. २६ का वडासचिव लिलामणी भण्डारीले विद्यालयका प्रअ सुनिल भण्डारीले राजिनामा दिएको पुष्टि गरेका छन् । विद्यालयमा लामो समयदेखि पठनपाठन ठप्प भएपछि गत भदौ दोश्रो हप्ता २६ नं. वडाका वडा सदस्य तीर्थ रानाभाटको संयोजकत्वमा छानविन समिति गठन भएको थियो । छानविन समिति गठन भएपछि विद्यालयमा आन्दोलन स्थगित भएको थियो । तर, उक्त समितिले पनि समयमा नै काम नगरेको भन्दै कार्तिक २४ गतेदेखि विद्यार्थीहरु पुनः आन्दोलित भएका थिए ।

विद्यार्थीहरु पुनः आन्दोलनमा उत्रेपछि समितिले आफ्नो प्रतिवेदन महानगरको शिक्षा समितिमा टुंगो लगाएर बुझाएको थियो । छानविन समितिका संयोजक तथा वडा सदस्य रानाभाटले आफ्नो प्रतिवेदन महानगरको शिक्षा समितिलाई बुझाइसकेको जनाएका छन् ।

तर, यहीबीचमा प्रधानाध्यापक भण्डारीको राजिनामा आएको हो । यस विषयमा एडुप्रेसले समाचार प्रकाशन गरेकाे थियाे ।

 

प्रतिक्रिया