EduPress
'

हिसान तारकेश्वरको उपाधी श्रृजना ज्ञान सागर र ल्यान्डमार्कलाई

Author Image
आइतवार, मंसिर ७, २०८२
Text Size:
  • जगत वाशिष्ठ

काठमाडौं । तारकेश्वर हिसानको आयोजनामा भएको दुइ दिने फुटसल प्रतियोगिताको उपाधि श्रृजना ज्ञान सागर र ल्यान्डमार्क एकेडेमीले हात पारेका छन् । हिसान तारकेश्वरको आयोजना तथा सेक्रेड हार्ट माद्यमिक विद्यालयको संयोजनमा मंसिर ५ र ६ गते तेश्रो हिसान फुटसल प्रतियोगिताको भएको थियो ।

प्रतियोगितामा छात्रतर्फ श्रृजना ज्ञान सागर र गल्र्समा ल्यान्डमार्क एकेडेमी च्याम्पियन बनेका हुन् । तारकेश्वरकाे शेषमतिस्थित सेक्रेड हार्ट माविमा भएको छात्रतर्फकाे फाइनल खेलमा श्रृजना ज्ञान सागरले कौशललाई ३–१ गोलले पराजित गर्यो । विजयी टिमका लागि विनोद तामाङ, लोकश बोहरा र अंगड पाख्रिनले १–१ गोल गरे। खेलमा कौशलका विराज गुरुङले सान्त्वना गोल फर्काएपछि काैशल प्रतियाेगितामा दाेस्राे बन्याे ।

त्यसैगरी छात्रातर्फको खेलमा ल्यान्डमार्कले हिमरश्मीलाई २–० गोलले हरायो । ल्याण्डमार्कका लागि दुवै गोल साजन खत्रीले गरेका थिए । छात्रातर्फ हिमरश्मी हाइ स्कूल दाेस्राे बन्याे भने छात्र र छात्रातर्फ दुबैमा प्रारम्भ वर्ल्ड स्कूल तेश्रो बन्यो ।

प्रतियाेगितामा छात्रतर्फ कौशलका अनिल गुरुङले उत्कृष्ट खेलाडीकाे पुरस्कार पाए । त्यस्तै श्रृजनाका रविन तामाङ उत्कृष्ट गोलरक्षक र प्रारम्भका युकेश नेगी सर्वाधिक गोलकर्ता बने । छात्रातर्फ प्रारम्भकी आकृति तामाङ उत्कृष्ट खेलाडी, हिमरश्मीकी कुसुम गुरुङ उत्कृष्ट गोलरक्षक र ल्यान्मार्ककी साजन खत्री सर्वाधिक गोलकर्ता बनेर पुरस्कृत भइन ।

प्रतियाेगिताका विजेताहरूलाई समापन कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ, काठमाडौंका प्रमुख डा. समन्तमणि आचार्य, तार्केश्वर नगरपालिकाका शिक्षा प्रमुख सुदिनराज बुढाथाेकी, प्याब्सनका केन्द्रीय सदस्य लोकेन्द्रबहादुर खड्का, तार्केश्वर हिसानका अध्यक्ष लिलबहादुर पुन, सचिव कमलप्रसाद ज्ञवाली, सह–सचिव एवं प्रतियोगिता संयोजक बद्रीनाथ भट्टलगायतले पुरस्कार वितरण गरेका थिए ।

‘सर्वाङ्गीन विकासको एउटा पक्ष: खेलकुद’ भन्ने नारासाथ मंसिर ५ गते सेक्रेड हार्ट माध्यमिक विद्यालको फुटसल मैदानमा भएकाे प्रतियाेगितामा छात्रतर्फ ८ वटा टिम सहभागी भएका थिए भने छात्रातर्फ ७ टिमले सहभागिता जनाएका थिए । प्रतियाेगिताका संयाेजक तथा सेक्रेड हार्ट माविका प्रिन्सिपल बद्रीनाथ भट्टले तारकेश्वर नगरपालिका भित्रका कक्षा ११ र १२ संचालित हिसान आबद्ध बिद्यालयहरुकाबीच खेल लिग कम नकआउट आधारमा सञ्चालन गरिएकाे जानकारी दिए ।

साे क्रममा प्रमुख अतिथि डा. आचार्यले विद्यार्थीलाई अनुशासन कायम गर्दै खेलकुद र सिकाइ सँगसँगै लैजान सल्लाह दिए । त्यस्तै विशेष अतिथि शिक्षा अधिकृत सुदिनराज बुढाथाेकीले आजका विद्यार्थीहरुलाई खेलकुदलगायतका कार्यक्रमले सिकाइमा निखारता ल्याउने र सो कार्यलाई तारकेश्वर हिसानले ठूलो टेवा पुऱ्याएको बताए । तारकेश्वर हिसानका अध्यक्ष श्री लिलबहादुर पुनले हिसान तारकेश्वरले वार्षिक कार्यतालिका सार्वजनिक गरेको र सोही अनुसार अरु कार्यक्रमहरु पनि गरिने जानकारी दिए ।

प्रतिक्रिया