EduPress
'

नक्कली पीएचडी देखाएर त्रिविमा जागिर खाने पाँचजना विरुद्ध अख्तियारको मुद्दा

Author Image
बुधवार, मंसिर १०, २०८२
Text Size:
  • लक्षिराम विश्वकर्मा

काठमाडौं । नक्कली पीएचडी कागजात पेश गरी विश्वविद्यालय सेवामा प्रवेश गरेका पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारकाे फन्दामा परेका पाँच मध्ये नक्कली पिएचडीकाे कागजात देखाउने र नक्कली पिएचडीधारीलाइ जागिर लगाउन सहयाेग गर्नेहरू रहेका छन् ।

यसरी नक्कली पिएचडी देखाएर नियुक्ति लिने त्रिविको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल, विराटनगरका सह–परीक्षा नियन्त्रक डिल्लीराम प्रसाई हुन । अख्तियारका अनुसार उनले आफूसँग पिएचडीको योग्यता छ भनेर विवरण पेश गरी त्रिविमा जागिर खाएका हुन् ।

त्रिवि रजिस्ट्रारको कार्यालय, कीर्तिपुरले रिक्त सह–परीक्षा नियन्त्रक पदमा २०८१ भदौ २२ गते (दोस्रो पटक) सूचना जारी आवेदन आह्वान गरेको थियो। त्यतिबेला प्रसाइसहित ६ जनाले आवेदन दिएका थिए । आवेदन दिँदा प्रसाईँले आफ्नो पिएचडी सहितको योग्यता पेश गरेका थिए ।

विज्ञापन गरिएअनुसारको उम्मेदवार छनौका लागि त्रिविले त्यतिबेला तीन सदस्यीय छनौट समिति गठन गरेको थियो । जसमा पद्मकन्या क्याम्पसमा कार्यरत प्रा.डा. जया लक्ष्मी प्रधान संयोजक रहकी थिइन । त्यस्तै त्रिविकै रसायन शास्त्र विभागमा कार्यरत प्रा.डा. मोतीलाल शर्मा र प्रा.डा. मेघराज पोख्रेल सदस्य रहेका थिए ।

छनोट समितिले प्रसाईले पेश गरेको योग्यतालाई भेरीफाइ नै नगरी अंक दिएको अख्तियारले पत्ता लगाएको छ । छनौट समितिले प्रसाइलाई पिएचडीबापत आठ अंक जोडेर एक नम्बरमा नाम सिफारिस गरेको सोही वमोजिम उनले २०८१ मंसिर १८ गते सह–परीक्षा नियन्त्रक पदमा नियुक्ति लिन सफल भएको अख्तियारले जनाएको छ। तर, प्रसाइले त्यतिबेला पिएचडीको उपाधी लिइनसकेको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार उनी त्रिविको डिन कार्यालयमा २०६९÷७०मा पिएचडीका लागि भर्ना भएका थिए। त्यसपछि पिएचडीको प्रोभिजनल सर्टिफिकेट भने सह–परीक्षा नियन्त्रकको नियुक्ति खाएको दुई महिनापछि २०८१ माघ २९ गते मात्रै प्राप्त गरेका थिए ।

अख्तियारले प्रसाईले आफ्नो पिएचडी नभएको थाहा हुँदाहुँदै पनि आठ अंक पाउनका लागि ‘बदनियत चिताई गैर कानुनी लाम सुविधा लिएको’ जनाएको छ ।

छनौट समितिले प्रसाईले पेश गरेको योग्यताको आधिकारिता प्रमाणित नगरेर सोझै ८ अंक सामुहिक रुपमा दिएको अख्तियारले जनाएको छ । यसरी सामुहिक रुपमा मिलेर ८ अंक दिएर एक नम्बरमा सिफारिस गरेको भन्दै अख्तियारले छनोट समितिमा रहेका प्रा.डा. जया लक्ष्मी प्रधान, प्रा.डा. मोतीलाल शर्मा र प्रा.डा. मेघराज पोख्रेललाई अख्तियारले मुद्दा चलाएको हो । अख्तियारले छनौट समितिले प्रसाईँसँगको मिलेमतो तथा योजनामा बदनियत राखी परीक्षाको परिणाम फेरबदल गरी गराएको, बदनियत पूर्वक भए गरेका कुरा लुकाइछिपाई वा नभए नगरेका कुरा देखाई सोही झुट्टा विवरणको आधारमा नियुक्तिको लागि गलत प्रतिवेदनसहित सिफारिस गरेको’ बताएको छ ।

अख्तियारले चारै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर भएको अख्तियारले ठहर गरी मुद्दा चलाएको छ।

प्रतिक्रिया

सम्बन्धित खबर