- लक्षिराम विश्वकर्मा
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयहरूमा प्रधानमन्त्रीलाई कुलपति बनाउने प्रचलन कुनै हालतमा पनि अन्त्य गरिने बताएका छन् ।
बुधबार त्रिभुवन विश्वविद्यालय सभामा सहभागी भएर बाहिरिएका मन्त्री पुनले यस्तो घाेषणा गरेका हुन् । मन्त्री पुनले याे घाेषणा अाफ्ना लागि निकै महत्त्वपूर्ण रहेकाे उल्लेख गर्दै अाफूले त्यसमा न्वारानदेखिकाे बल लगाएको जानकारी दिए । त्यसका लागि कानुनी प्रक्रिया द्रुत गतिमा अघि बढाइरहेको जानकारी पनि दिए।
त्रिभुवन विश्वविद्यालयका सह–कुलपति समेत रहेका मन्त्री पुनले आवश्यक परे अध्यादेशमार्फतै भए पनि कानुन ल्याउने तयारी भइरहेको बताए। उनले अहिले यश विषयमा कानुनविद्हरुसँग छलफल चलिरहेको बताएका छन् ।
मन्त्री पुनका अनुसार याे विषयमा प्रधानमन्त्री सुशीला कार्की पनि सकारात्मक छन। मन्त्री पुनले भने, “यो प्रचलन अन्त्य गर्न हामीले न्वारानदेखिको बल लगाइरहेका छौं। अध्यादेशबाट होस् वा नियमित कानुनी प्रक्रियाबाट, विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नरहने व्यवस्था अब आवश्यक छ भन्नेमा हामी दृढ छौं।”
सञ्चारकर्मीहरुसँग कुरा गर्दा मन्त्री पुन याे विषयलाई कुनै हालतमा पनि नछाड्ने दृढ अडानमा देखिन्थे । उनले सुरुदेखि नै विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुन नहुने, त्यसको सट्टा स्वतन्त्र र स्वायत्त निकायबाट विश्वविद्यालय चलाउनुपर्ने अडान लिँदै अाएका छन् । प्रधानमन्त्री कुलपति हुँदा विश्वविद्यालयमा चर्को राजनीति घुसेकाे र विश्वविद्यालयहरु अस्तव्यस्त भएको उनकाे भनाइ छ । उनले एक कार्यक्रममा प्रधानमन्त्रीलाई अाफू कतिवटा विश्वविद्यालयकाे कूलपति छु भन्ने पनि थाहा नहुने टिप्पणी गरेका थिए ।



