पाल्पा । पाल्पाको बगनाथकाली गाउँपालिकामा शिक्षकहरुको तालिम कार्यक्रम सुरु भएको छ । एकीकृत पाठ्यक्रम कष्टमाइज अन्तर्गत निरन्तर विद्यार्थी मूल्याङ्कन सम्बन्धी दुई दिने तालिम सुरु भएको छ ।
गाउँपालिका भित्रका कक्षा १ देखि ३ सम्म अध्यापन गर्ने शिक्षकहरूका लागि तालिम आयोजना गरिएको गाउँपालिकाकी शिक्षा अधिकृत निशा पाण्डेले जानकारी दिएकी छन् । उनले तालिममा पालिका भित्रका ३५ जना शिक्षकको सहभागिता रहेको पनि जानकारी दिइन ।
तालिम कार्यक्रममा पाठ्यक्रमविद तथा रोस्टर प्रशिक्षक दयाराज कँडेलले सहजीकरण गर्ने बताइएको छ । गाउँपालिकाकै सभाहलमा सुरु भएको तालिम कार्यक्रमको उद्घाटनका क्रममा गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी, उपाध्यक्ष हरिप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे र शिक्षा अधिकृत निशा पाण्डेको उपस्थिति रहेको थियो ।
शिक्षा अधिकृत पाण्डेका अनुसार विद्यालयमा विद्यार्थीको उपलब्धि परीक्षणमा सहयोग गर्ने उद्देश्यले तालिम कार्यशाला आयोजना गरिएको हो । नेपाल सरकारले पाठ्यक्रममा एकीकृत अवधारणा ल्याएसँगै कक्षा १ देखि ३ सम्म आवधिक परीक्षाको सट्टा निरन्तर विद्यार्थी मूल्याङ्कनलाई जोड दिने र दैनिक सिकाई उपलब्धिको अभिलेखीकरण गरी विद्यार्थीको सक्षमता पत्ता लगाउन यो तालिम महत्वपूर्ण हुने बताइएको छ ।


