धनुषा । शिक्षामा सुधार ल्याउनका लागि धनुषाको एक पालिकाले शिक्षकहरुको भेला गरेको छ । मुखियापट्टी मुसहरनिया गाउँपालिकाले शिक्षा सुधार तथा विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि पालिकाभरिका सबै शिक्षकहरुको भेला गरेको हो ।
गाउँपालिकाका गाउँपालिका अध्यक्ष जयकुमार यादवको पहलमा पालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरुमा कार्यरत प्रधानाध्यापक, शिक्षक, बालविकास शिक्षक, पालिका शिक्षक, संघीय अनुदान शिक्षक एवम शिक्षा परिचालक तथा परिचालिकाहरुलाई संयुक्त भेला गरिएको हो ।
पालिकाको तुलसीयाही माविमा गरिएको भेलामा विद्यालयमा भइरहेको अभ्यास र अवस्थाको समीक्षा गर्नुका साथै शिक्षकहरुबाट सुझाव समेत संकलन गरिएको छ । शिक्षकहरुलाई विद्यालय सुधार र विद्यार्थीहरुको शैक्षिक गुणस्तर बृद्धि गर्न के गर्नुपर्छ भन्ने प्रश्नमा सबै शिक्षक कर्मचारीहरुलाई आफ्ना सुझाव राख्न भनिएको र सोही वमोजिम सबैले धेरै सुझाव दिएको पालिकाका अध्यक्ष जयकुमार यादवले जानकारी दिए । शैक्षिक गुणस्तर सुधार गर्नका लागि विद्यालयमै कार्यरत सबै शिक्षक कर्मचारीहरुको भेला पहिलो पटक भएको भन्दै सहभागीहरुले खुसी व्यक्त गरेका थिए । साथै सहभागीहरुले विद्यालयको अवस्था सुधार गर्न, विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न र विद्यालयको सर्वाङ्गीण विकासबारे बिभिन्न दृष्टिकोणबाट आफ्नो सुझाव राखेका थिए ।
सो क्रममा अध्यक्ष यादवले पालिकामा छिट्टै बहुप्राविधिक शिक्षालय स्थापना गरी स्वास्थ्य र इन्जिनियरिङ कार्यक्रम संचालन गर्ने योजना रहेको जानकारी गराएका थिए । अध्यक्ष यादवले विद्यालयमा शैक्षिक गतिविधिमा विविधता र सिर्जनशीलता ल्याउन हरेक दिन फरक फरक शिक्षकलाई प्रधानाध्यापक नियुक्त गरी नयाँ प्रणाली लागु गर्ने पनि बताए । अहिले पनि पालिकाका सबै विद्यालयमा हरेक दिन छुटै प्रअ नियुक्त गर्दै सञ्चालन भइरहेको छ ।
साथै अध्यक्ष यादवले विद्यालयको अवस्था सुधारको निमित्त पालिकाको तर्फबाट कुनै किसिमको कमी हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे । उनले पालिकाको शिक्षा सुधारका लागि अझै सिर्जनशील योजना ल्याउन प्रअ, शिक्षक, कर्मचारी, परिचालक सबैलाई अपिल पनि गरे । उनले विद्यार्थीहरुको पढाइलाई राम्रो बनाउन अभिभावकहरुको पनि महत्वपूर्ण भूमिका रहने भन्दै त्यसका लागि पनि अभिभावकहरुसँग छलफल गरिरहेको बताए । उनले विभिन्न समयमा अभिभावकहरुलाई समेत विद्यालय र कक्षा कोठामा लिएर शिक्षक विद्यार्थीहरुसँग अन्तरक्रिया गर्ने गरेको जानकारी दिए ।

कार्यक्रममा गाउँपालिकाका बिभिन्न शाखाका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो । पालिकाका शिक्षा शाखा प्रमुख रामपुकार दासले शिक्षामा सुधारका लागि सबैलाई दत्तचीत भइ लाग्न आग्रह गरेका थिए ।
मुखियापट्टी मुसहरनिया गाउँपालिकाले शिक्षा सुधारका लागि नमूना कार्यक्रम सञ्चालन गर्दै आएको छ । पालिकाले शिक्षामा उल्लेखनीय काम गरेको भन्दै प्रधानाध्यापक संघ नेपाल (पान)ले उत्कृष्ट पालिकाको सम्मान पनि गरेको थियो । संघले शिक्षामा राम्रो पहल लिएका देशभरका पालिकाहरुमध्येबाट सात प्रदेशमा उत्कृष्ट पालिका घोषणा गरी सम्मान गर्ने गरेका छ । स्वतन्त्र विज्ञहरुको जुरी कमिटि निर्माण गरी विभिन्न इन्डिकेटरहरुका आधारमा पानले उत्कृष्ट पालिका, उत्कृष्ट, शिक्षक, उत्कृष्ट विद्यालय घोषणा गर्ने गरेको छ । त्यसमध्ये २०८१ को उत्कृष्ट पालिका मुखियापट्टी मुसहरनिया गाउँपालिका घोषित भएको थियो । प्रधानाध्यापक संघ, नेपालका केन्द्रीय अध्यक्ष सुदाम प्रसाद गौतम यो पालिकाले शिक्षामा साँच्चिकै राम्रा महत्वपूर्ण काम गरेका बताउँछन् । यस पालिकाबाट अन्य पालिकाले सिक्नुपर्ने धेरै कुरा रहेको भन्दै अध्यक्ष गौतमले आफूहरु पनि यहाँको नविन अभ्यासको अवलोकन गर्न पालिका भ्रमण गरेको बताए ।
पालिकाले विद्यार्थी, अभिभावक र शिक्षकहरुको नियमित भेटघाट तथा अन्तरक्रिया गराई शैक्षिक उपलब्धिमा धेरै सुधार ल्याएको छ । कमजोर विद्यार्थीहरुका लागि अतिरिक्त कक्षाहरु समेत सञ्चालन गर्नुका साथै छात्राहरुका लागि पालिकाले निःशुल्क यातायातको व्यवस्था पनि गरेको छ ।



