EduPress
'

लुम्बिनी सरकारले प्रदेशभित्रका छात्राहरुलाई छात्रवृत्ति दिने, विवरण पेश गर्न सूचना जारी

Author Image
बुधवार, मंसिर १७, २०८२
Text Size:

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशभित्रका सामुदायिक विद्यायमा अध्ययनरत मुक्त कमैया, कम्लहरी, मुस्लिम र दलित समुदायका छात्राहरुका लागि छात्रवृति प्रदान गर्ने भएको छ । प्रदेश सरकारको वार्षिक वजेट अन्तर्गत छात्रवृत्ति कार्याक्रम लागु गर्न लागिएको प्रदेश सरकार अन्तर्गत शिक्षा तथा सामाजिक विकास निर्देशनालयले जनाएको छ ।

छात्रवृत्ति प्रदान गर्नका लागि निर्देशनालयले एक सूचना समेत जारी गरेको छ । सूचनामा प्रदेशभित्रका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत मुक्त कमैया, कम्लहरी, मुस्लिम र दलित समुदायका छात्राहरुका लागि छात्रवृति प्रदान गरिने उल्लेख गरिएको छ । साथै निर्देशनालयले उल्लेखित समुदायका विद्यार्थीमध्ये विद्यालयमा नियमित अध्ययनरत छात्रालाई मात्र छात्रवृत्ति प्रदान गर्ने प्रष्ट पारेको छ । विद्यालयमा भर्ना भइ कम्तिमा ७० प्रतिशत हाजिर भएको रेकर्ड पेश गर्नुपर्ने पनि प्रष्ट पारेको छ ।

निर्देशनालयले लुम्बिनी प्रदेशभित्र कक्षा ११ र १२ सञ्चालन गरेका सबै सामुदायिक विद्यालयहरुलाई विवरण पेश गर्न भनेको छ । सूचनामा निर्देशनालयको आव २०८२।०८३ को स्वीकृत वार्षिक वजेट तथा कार्यक्रम अनुसार यो छात्रवृति दिन थालिएको जानकारी गराइएको छ । निर्देशनालयले तोकिएका छात्राहरुलाई छात्रवृति उपलब्ध गराउने कार्यक्रम रहेकोले सबै विद्यालयलाई सार्वजनिक सूचना प्रवाह गर्न पनि भनेको छ । सूचना जारी भएको मितिले ३० दिनको समय सीमा जारी गरी विवरण संकलन गर्न र ३० दिने समय सकिएको ५ दिनभित्र ती विवरण निर्देशनालयको राप्ती उपत्यका दाङ देउखुरीस्थित कार्यालयमा पेश गर्न भनेको छ ।

निर्देशनालयले विवरणका साथमा ८ प्रकारका कागजातहरु पेश गर्न पनि भनेको छ । जसअनुसार विद्यार्थीको निवेदन पत्र, कक्षा १२ को छात्रवृत्तिका लागि कक्षा ११ को र कक्षा ११ को लागि एसइइको प्रमाण पत्रको प्रतिलिपी, सामुदायिक विद्यालयमा कक्षा ११ वा १२ मा भर्ना भई नियमित अध्ययनरत रहेको र कम्तिमा ७० प्रतिशतभन्दा बढी हाजिरी भएको सबन्धित विद्यालयको सिफारिस, मुक्त कमैया वा कम्लहरी छात्रवृत्तिका लागि सरकारी निकायबाट जारी सिफारिस वा प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, मुस्लिम र सिमान्तकृत छात्रवृत्तिका लागि सो जातिभित्र सूचिकृत भएको सम्बन्धित सरकारी निकायबाट जारी सिफारिस प्रमाणपत्र, दलित छात्रवृत्तिका लागि राष्ट्रिय दलित आयोगको सूचिकृत भएको, अन्य कुनै निकायबाट छात्रवृत्ति नपाएको ब्यहोराको सम्बन्धित विद्यालयको सिफारिस पत्र र विद्यार्थीको खाता रहेको नाम, ठेगाना, खाता नम्बर (बैंकको चेकको फोटोकपी) समेत पठाउन निर्देशनालयले सूचना उल्लेख गरेको छ ।

निर्देशनालयले प्रदेशभित्रका सबै सामाजिक विकास डिभिजन कार्यालयहरुलाई पनि सूचनाको बोधार्थ दिएको छ । ती कार्यालयहरुलाई सम्बन्धित जिल्लाभित्रका क्याम्पसहरुलाई सूचना प्रवाह गरी पेश गर्नुपर्ने कागजातहरु सावधानीपूर्वक रुजु गरी एकमुष्ट विवरण तयार गर्न भनेको छ । साथै डिभिजन कार्यालयहरुलाई त्यसरी संकलन भएका विवरण तयार गर्न, प्रमाणित गर्न र प्रमाणित कपी तथा विद्युतीय एक्सेल प्रति समेत निर्देशनालयमा पठाउन भनेको छ ।

निर्देशनालयका निमित्त महानिर्देशक नारायणप्रसाद पोख्रेलको हस्ताक्षरमा जारी सूचना यही मंसिर १६ गते प्रकाशित भएको हो । जस अनुसार विद्यालयहरुले आफ्ना विवरण पुस १६ गतेसम्म सबै विवरण संकलन गरि जिल्लास्थित सामाजिक विकास डिभिजन कार्यालयमा पठाइसक्नुपर्ने छ ।

प्रतिक्रिया