काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा उच्च शिक्षामा बढ्दो राजनीतिकरणलाई अन्त्य गर्न सरकारले ठोस कदमको लागि तयारी तीब्र पारेकाे जानकारी दिएकी छन्। काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले शैक्षिक प्रशासनमा भइरहेका दलीय हस्तक्षेपले विश्वविद्यालयहरूको शैक्षिक वातावरण प्रभावित भएको भन्दै अब स्थायी समाधानका लागि कानुनी संरचना नै परिवर्तन गर्न लागिएको बताइन्।
सबै विश्वविद्यालयकाे कुलपति समेत रहेकी प्रधानमन्त्री कार्कीका अनुसार, हाल प्रचलित ‘प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति’ हुने व्यवस्थाले राजनीतिक प्रभाव बढाउने भएकाले प्राज्ञिक व्यक्तिलाई कुलपति बनाउने दिशामा काम तीव्र रूपमा अघि बढेको छ।
“शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले उच्च शिक्षामा दीर्घकालीन असर पारिरहेको महसुस गर्दै हामीले ऐन संशोधनको तयारी गरिरहेका छौँ,” उनले भनिन्। शिक्षामन्त्री महावीर पुनले शिक्षाविद्, उपकुलपति तथा सरोकारवालासँग निरन्तर परामर्श गरिरहेको उनले जानकारी गराइन्।
समारोहमा दीक्षित विद्यार्थीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्ट्र निर्माणमा सक्रिय योगदान गर्न आग्रह गरिन्। उनले भनिन्, “यो देश अरू कसैले आएर बनाइदिँदैन। देश समुन्नत बनाउने जिम्मेवारी यहीँका युवाहरूको काधमा छ।” विद्यार्थीहरूलाई अत्यधिक आश्वासनभन्दा पनि जिम्मेवारीबोध महत्त्वपूर्ण रहेको उनकाे भनाइ थियाे ।
प्रधानमन्त्री कार्कीले विदेशबाट अध्ययन गर्न नेपाल आउने विद्यार्थीहरूलाई सजिलो होस् भन्ने उद्देश्यले भिसा प्रक्रियालाई सहज बनाउने विषयमा पनि सरकारले पहल अघि बढाइरहेको बताइन्।
सो अवसरमा उनले युवाहरूको सोच र आकांक्षा बदलिँदै गएको उल्लेख गर्दै जेनजी आन्दोलनले देशमै गुणस्तरीय शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना पूरा गर्ने अपेक्षा अझ मुखरित भएको बताइन्। “समृद्धिको सपना मुलुकमै पूरा हुन्छ भन्ने राष्ट्रिय भावना बलियो भएको छ, सरकार त्यसलाई संस्थागत बनाउन प्रयासरत छ,” कार्कीको भनाइ थियो।
समारोहमा प्रधानमन्त्रीले हिमालयन युनिभर्सिटी कन्सोर्टियम (HUC) को नयाँ सचिवालय काठमाडौँ विश्वविद्यालयमा स्थापना हुने निर्णयप्रति खुशी व्यक्त गरिन्। उनले नेपाल तथा हिमाली क्षेत्र जलवायु परिवर्तनबाट गम्भीर रूपमा प्रभावित भइरहेको उल्लेख गर्दै, “कन्सोर्टियमको सचिवालय नेपालमा हुनु यो क्षेत्रको आवाज विश्वसामु दृढतापूर्वक प्रस्तुत गर्ने अवसर हो,” भनिन्।
दीक्षान्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सह–कुलपति महावीर पुनसमेत सहभागी थिए। कार्यक्रममा भारतको जवाहरलाल नेहरु विश्वविद्यालय (JNU) की उपकुलपति प्रा. शान्तीश्री धुलिपुडी पण्डितले विद्यार्थीहरूलाई सिकेका सीप व्यवहारमा उतार्न आग्रह गर्दै वास्तविक जीवनमै ज्ञानको उपयोगिताले व्यावसायिक सफलता प्राप्त हुने बताइन्।
काठमाडौँ विश्वविद्यालयको धुलिखेल परिसरमा सम्पन्न समारोहमा आफ्ना अनुभव स्मरण गर्दै प्रधानमन्त्री कार्कीले विद्यार्थी जीवनका जिज्ञासा र उत्साह आज पनि आफूभित्र उत्तिकै ताजा रहेको बताइन्। उनले विश्वविद्यालय परिवारलाई यस्तो अवसर जुटाइदिएकोमा धन्यवाद पनि व्यक्त गरिन्।
दीक्षान्त समारोहले नयाँ उपाधि हात पारेका विद्यार्थी, अभिभावक र प्राध्यापकहरूको उल्लासपूर्ण सहभागितासहित विश्वविद्यालय परिसरमा उत्साहपूर्ण वातावरण सिर्जना भएको थियो।


