काठमाडौँ । इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड)ले हिमालयन युनिभर्सिटी कन्सोर्टियम (हिमाली विश्वविद्यालय सञ्जाल)को सचिवालय औपचारिक रूपमा काठमाडौं विश्वविद्यालय (केयू)लाई हस्तान्तरण गरेको छ । इसिमोडको मुख्यालयमा आयोजित समारोहमा सम्झौतापत्रमा हस्ताक्षर गर्दै बुधबार सचिवालय हस्तान्तरणको घोषणा गरिएको हो ।
यस निर्णयसँगै सन् २००७ मा स्थापना भएको हिमाली विश्वविद्यालय कन्सोर्टियम अब केयूको नेतृत्वमा सञ्चालन हुनेछ । हिन्दुकुश–हिमालय क्षेत्रका विश्वविद्यालयहरूबीच सहकार्य सुदृढ गर्दै साझा विकास चुनौती समाधानका लागि ज्ञान आदान–प्रदानको प्लेटफर्मका रूपमा स्थापित कन्सोर्टियम हाल १०० भन्दा बढी विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूको सञ्जालमा विस्तार भइसकेको छ ।
इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले सम्झौताले दिगो पर्वतीय विकासका लागि क्षेत्रीय नेतृत्व र अनुसन्धान सुदृढ पार्ने साझा प्रतिबद्धता झल्काउने बताए । स्वतन्त्र र क्षेत्रीय पहिचान बनाइसकेको कन्सोर्टियमलाई नयाँ उचाइमा पुर्याउन काठमाडौं विश्वविद्यालय सक्षम रहेको उनको भनाइ थियो ।
काठमाडौं विश्वविद्यालयका कुलपति प्रा. अच्युत वाग्लेले यस हस्तान्तरणलाई हिन्दुकुश–हिमालय क्षेत्रका विश्वविद्यालयहरूबीचको शैक्षिक सहकार्यमा नयाँ माइलस्टोनको रूपमा व्याख्या गरे । जलवायु परिवर्तन, विश्व तापक्रम वृद्धि र चरम मौसमीय जोखिम बढिरहेका सन्दर्भमा क्षेत्रीय शैक्षिक संस्थाहरूले विश्वासनीय डेटा र अनुसन्धान उत्पादनमा थप जिम्मेवारी लिनुपर्ने उनले बताए ।
इसिमोडका पूर्व उपमहानिर्देशक तथा कन्सोर्टियमका पूर्व स्टीयरिङ कमिटी सदस्य डा. एक्लव्य शर्माले सचिवालय केयूमा सर्नुले अनुसन्धान, शिक्षा, क्षमता विकास र ज्ञान सह–उत्पादनमार्फत क्षेत्रीय सहकार्यलाई थप गहिरो बनाउने विश्वास व्यक्त गरे । यस्ता सामूहिक प्रयासहरूले हिमाली क्षेत्रमा दिगो विकासका नीति र अभ्यासलाई मार्गदर्शन गर्ने उनको भनाइ छ ।
सचिवालय केयूमा सर्ने निर्णयले कन्सोर्टियमलाई अझ स्वायत्त, स्थानीय मर्मसँग जोडिएको र प्राज्ञिक रूपमा सुदृढ बनाउने अपेक्षा गरिएको छ । समीक्षात्मक सिफारिसअनुसार कन्सोर्टियम विश्वविद्यालयमै रहनु उपयुक्त ठहरिँदै आएको थियो ।
नेपालस्थित बेलायतका राजदूत रोब फेनले कन्सोर्टियमले केयूमा नयाँ ‘घर’ पाउनु शैक्षिक समुदायका लागि सकारात्मक भएको बताए । पर्वतीय एजेन्डालाई विश्वमञ्चमा प्रभावकारी रूपमा अघि बढाउन, विशेषतः जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय प्रक्रियामा, यस सहकार्यले योगदान पुर्याउने उनको धारणा छ ।
हिमाली विश्वविद्यालय कन्सोर्टियम पर्वतमुखी अनुसन्धान, शिक्षा, पहुँच विस्तार र अभ्यास प्रवर्द्धनमा केन्द्रित रहँदै हिन्दुकुश–हिमालय क्षेत्रका नाजुक पारिस्थितिकी, समुदाय र संस्कृतिसम्बन्धी चुनौतीका वैज्ञानिक समाधान विकासमा योगदान गर्ने लक्ष्यसहित अघि बढ्नेछ ।


