काभ्रे । काठमाडौं विश्वविद्यालयका ८२ जना शिक्षक तथा कर्मचारीलाई ३४ औँ वार्षिकोत्सवका अवसरमा सम्मान गरिएको छ । बिहीबार विश्वविद्यालय परिसरमा आयोजित कार्यक्रममा सेवानिवृत्त तथा दीर्घकालीन सेवा गरेका शिक्षक–कर्मचारीलाई कदरपत्र र सम्मानपत्र प्रदान गरिएको हो ।
विश्वविद्यालयका अनुसार २०७६ मंसिरदेखि हालसम्म सेवानिवृत्त भएका २२ जना शिक्षक तथा कर्मचारीलाई मायाको चिनोसहित कदरपत्र प्रदान गरिएको छ । त्यस्तै, विश्वविद्यालयमा २५ वर्षदेखि निरन्तर सेवा गरेका ६० जना शिक्षक तथा कर्मचारीलाई मायाको चिनोसहित सम्मानपत्रले सम्मान गरिएको हो ।
काठमाडौं विश्वविद्यालयको ७५८ औँ कार्यपरिषद् बैठकको निर्णयअनुसार दुई विधामा कदरपत्र र सम्मानपत्र प्रदान गर्ने अभ्यासलाई निरन्तरता दिइएको उपकुलपति प्रा.डा. अच्युत वाग्लेले बताए । उनले यस किसिमको सम्मान कार्यक्रम आगामी दिनमा पनि निरन्तर गरिने स्पष्ट पारे ।
कार्यक्रममा बोल्दै उपकुलपति वाग्लेले संस्थागत जनशक्ति व्यवस्थापनमा देखिएका चुनौतीबारे पनि चर्चा गरे । उनका अनुसार संघ–संस्थामा रिक्त पदपूर्ति प्रक्रिया कमजोर जनशक्ति उत्पादनका कारण थप चुनौतीपूर्ण बन्दै गएको छ । एउटै पदका लागि पटक–पटक विज्ञापन गर्नुपरेको अवस्थाले संस्थागत दक्षतामाथि प्रश्न उठाएको उनले बताए ।
कन्टेम्पोररी इकोसिस्टम गभर्नेन्सअन्तर्गत आवश्यक ‘इकोसिस्टम अन्डरस्ट्यान्डिङ’ कमजोर देखिएकाले परीक्षामा सहभागी उम्मेदवारको नतिजा सन्तोषजनक नआएको उनको भनाइ थियो । योग्य दरखास्त नआउँदा मागअनुसार पदपूर्ति गर्न कठिनाइ भइरहेको र सिफारिस तथा दबाबको प्रचलन अझै कायम रहेको उनले उल्लेख गरे ।


