EduPress
'

७७ जिल्लामै ललितकला पढाउनुपर्ने माग

Author Image
शुक्रवार, मंसिर २६, २०८२
Text Size:
  • जगत वाशिष्ठ

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले समाज परिवर्तनमा ललितकला शिक्षाको भूमिका दिनप्रतिदिन बढिरहेको बताएका छन्। भोटाहिटीस्थित ललितकला क्याम्पसमा स्ववियुले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले ललितकला समाजलाई रूपान्तरण गर्ने प्रभावकारी माध्यम भएकाले यसको विस्तार र प्रवर्द्धन आवश्यक रहेको उल्लेख गरे।

सदस्यसचिव थुम्केलीले परम्परागत मौलिक शिल्पज्ञानलाई आगामी पुस्तामा हस्तान्तरण गर्नु चुनौतीपूर्ण बनेको बताउँदै सातै प्रदेशका विश्वविद्यालयमा कम्तीमा एउटा कला विभाग स्थापना गर्नुपर्ने आवश्यकता औंल्याए। उनले ७७ वटै जिल्लाका ११ र १२ कक्षामा पनि ललितकला विषय अनिवार्यरूपमा पढाइ हुने व्यवस्था गर्नुपर्ने धारणा राखे।

हाल त्रिवि अन्तर्गत ललितकला केन्द्रीय विभाग कीर्तिपुर, भोटाहिटी ललितकला क्याम्पस, काठमाडौं विश्वविद्यालय हात्तीवनस्थित आर्ट एण्ड डिजाइन तथा क्राफ्ट एण्ड डिजाइन कार्यक्रम, लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गत पुल्चोकस्थित अक्षेश्वर महाविद्यालय, स्वयम्भुको सिर्जना कलेज अफ फाइन आर्ट्स लगायतका संस्थामा ललितकला शिक्षाको व्यवस्था छ। राजर्षि जनक विश्वविद्यालयले जनकपुरमा मैथिली कला विषयसहित स्नातक तह सञ्चालन गरिएको छ । साथै ११–१२ कक्षामा करिब १३ स्थानमा ललितकला पढाइ भइरहेको छ ।

सदस्यसचिव थुम्केलीका अनुसार प्रतिष्ठानले कार्यशाला, तालिम, प्रदर्शनी, गोष्ठी र अन्तरक्रिया जस्ता कार्यक्रममार्फत देशभर ललितकलाको महत्त्व उजागर गर्दै आएको छ । उनी दक्ष जनशक्ति उत्पादन गर्दै नवप्रवर्तनसँग जोडिन उनले औपचारिक तथा अनौपचारिक दुवै माध्यमबाट कला ज्ञान पुस्तान्तरण गर्नुपर्ने बताउँछन् । विद्यालय तहको पाठ्यक्रममै ललितकलालाई प्राथमिकता दिनुपर्छ भन्ने उनको जोड रहेको छ ।

नेपाली ललितकलाको सैद्धान्तिक अध्ययन, अनुसन्धान, प्रकाशन, अभिलेखीकरण र कलाकारको अवस्थाबारे सर्वेक्षण कार्य पनि प्रतिष्ठानले गरेको उनले जानकारी दिए। साथै कला मूल्यांकन, सङ्ग्रहालय, स्मारक, कलाग्राम निर्माण, कच्चा पदार्थ, कर, भन्सार, अन्तर्राष्ट्रिय प्रदर्शनी तथा कम ब्याजमा ऋण लगायतका विषयमा नीतिगत स्पष्टता र संघ–प्रदेश–पालिका समन्वयका मापदण्ड तयार गर्नु समयको माग रहेको उनले बताए।

कार्यक्रममा स्ववियु उपसभापति प्रतिक्षा तिवारीले ललितकलाका बहुआयाम र यसको संरक्षण–प्रवर्द्धनमा सबैको सहभागिता आवश्यक रहेको धारणा राखिन्। उनले ललितकला शिक्षा सिर्जना र सीप विकासको आधार भएको उल्लेख गरिन्। त्यसैगरी सभापति आशिष पौडेलले समाजपरिवर्तनमा ललितकला शिक्षा महत्वपूर्ण बनेको उल्लेख गर्दै यसलाई उत्पादनसँग जोड्न सके मात्र दिगो विकास सम्भव हुने बताए। उनले प्रतिष्ठानबाट प्रस्तुत गरिएको सामग्रीले नयाँ पुस्ताका विद्यार्थीहरू लाभान्वित भएको बताए।

प्रतिक्रिया

सम्बन्धित खबर