EduPress
'

गेटा विश्वविद्यालयको उपकूलपतिमा तेस्रोपटक विज्ञापन गर्दा बल्ल परे आवेदन

Author Image
बुधवार, पौष १, २०८२
Text Size:

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको धनगढीमा स्थापना गरिएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पहिलो उपकुलपति नियुक्तिका लागि तेस्रोपटक आह्वान गरिएको आवेदनमा केही उम्मेदवारको दरखास्त परेको छ। उपकुलपति तथा रजिस्ट्रार छनोट–सिफारिस समितिका संयोजक जयराज अवस्थीका अनुसार प्राप्त आवेदनहरू हाल सिलबन्दी अवस्थामा रहेका छन् र औपचारिक रुजु प्रक्रिया सुरु हुन बाँकी छ।

समितिले मंसिर २८ गतेसम्म आवेदन पेस गर्न तेस्रो पटक सूचना प्रकाशित गरेको थियो। यसअघि दुई पटकसम्म पनि उपकुलपतिका लागि आवेदन नपरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत योग्य र इच्छुक व्यक्तिलाई खुला आह्वान गरेका थिए।

संयोजक अवस्थीले उपकुलपति पदका आवेदन नखोलिएको जानकारी दिँदै भने, “केही दरखास्त परेका छन्, तर सबै सिलबन्दी भएकाले अझै खोलिएका छैनन्।” उनका अनुसार रजिस्ट्रार पदका लागि भने १० जनाको आवेदन परिसकेको छ र ती दरखास्तको रुजु सम्पन्न गरी सर्टलिस्ट सार्वजनिक गर्ने तयारी भइरहेको छ।

यसअघि उपकुलपति पदमा दुई पटक विज्ञापन गर्दा पनि दरखास्त नपरेको विषयलाई लिएर सरोकारवालाले विश्वविद्यालय ऐनमा तोकिएको योग्यता अत्यधिक कडा भएको भन्दै आलोचना गर्दै आएका छन्। संघीय संसदबाट पारित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ गत असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएसँगै विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रारलगायत पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु भएको हो।

ऐनअनुसार उपकुलपति बन्न चिकित्सा शिक्षासँग सम्बन्धित विषयमा विद्यावारिधि, डीएम, एमसीएच वा सो सरहको उपाधि हासिल गरेको, प्राध्यापक पदमा कम्तीमा १० वर्षको अनुभव भएको तथा उमेर ३५ वर्ष पूरा भई ६१ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ।

रजिस्ट्रार पदका लागि भने चन्द्रप्रकाश भट्ट (ललितपुर), प्रमोदकुमार यादव (धनुषा), डबलबहादुर धामी (बझाङ), खेमराज जोशी (कञ्चनपुर), शिवप्रसाद सापकोटा (कैलाली), डमरु पनेरु (कञ्चनपुर), गोविन्द सिंह बिष्ट (बैतडी), शिला मैनाली (बारा), भिमबहादुर चन्द (बैतडी) र पदमराज जोशी (कैलाली) ले आवेदन दिएको सिफारिस समितिले जनाएको छ। यीमध्येबाट आवश्यक प्रक्रिया पूरा गरी सर्टलिस्ट तयार पारिनेछ।

उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सिफारिस गर्न सरकारले जयराज अवस्थीको संयोजकत्वमा भारती जोशी र दीपक महरासहितको तीन सदस्यीय समिति गठन गरेको छ। अवस्थी सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति हुन् भने जोशी र महरालाई विज्ञ सदस्यका रूपमा समेटिएको छ।

रजिस्ट्रारका लागि न्यूनतम शैक्षिक योग्यतामा कुनै पनि विषयमा स्नातकोत्तर उपाधि अनिवार्य गरिएको छ। साथै उच्च शिक्षामा प्राध्यापन वा अनुसन्धान, स्वास्थ्य सेवा क्षेत्रको कार्यकारी प्रशासन, वा सरकारको पूर्वसचिव वा सो सरहको पदमा कम्तीमा पाँच वर्षको कार्यअनुभव हुनुपर्ने व्यवस्था गरिएको छ। समितिले सम्बन्धित कार्यविधि जारी गरी छनोट प्रक्रिया अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया