काठमाडौँ । धनगढीको गेटामा स्थापना हुन लागेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रजिस्ट्रार नियुक्तिका लागि छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यस प्रक्रियाअन्तर्गत आवेदन दिएका उम्मेदवारहरूमध्ये सात जना सर्टलिस्टमा परेका छन् ।
रजिस्ट्रार पदका लागि कुल १० जनाले आवेदन दिएकोमा छनोट तथा सिफारिस समितिले प्रारम्भिक मूल्याङ्कनपछि सात जनालाई अन्तिम प्रतिस्पर्धाका लागि योग्य ठहर गरेको हो । समितिले बुधबार सूचना जारी गर्दै सर्टलिस्टमा परेका उम्मेदवारलाई शैक्षिक प्रमाणपत्रसहित प्रस्तुतीकरण तथा अन्तर्वार्तामा सहभागी हुन आग्रह गरेको छ ।
अन्तिम चरणका लागि छनोट भएका उम्मेदवारमा कञ्चनपुरका खेमराज जोशी र डमरुप्रसाद पनेरु, बैतडीका गोविन्दसिंह विष्ट र भीमबहादुर चन्द, बझाङका डबलबहादुर धामी तथा कैलालीका पदमराज जोशी र शिवप्रसाद सापकोटा छन् ।
विश्वविद्यालय स्थापना सम्बन्धी ऐन गत असारमा संसद्बाट पारित भएसँगै सरकारको तर्फबाट नेतृत्व चयन प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको हो । सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति जयराज अवस्थीको संयोजकत्वमा गठित तीन सदस्यीय छनोट तथा सिफारिस समितिले रजिस्ट्रारसँगै उपकुलपति नियुक्ति प्रक्रिया पनि अगाडि बढाइरहेको छ । समितिका अनुसार उपकुलपति पदका लागि तेस्रोपटक आवेदन खुलाउँदा दुई जनाले मात्रै दरखास्त दिएका छन् ।
सुदूरपश्चिम प्रदेशमै स्वास्थ्य विज्ञान तथा चिकित्सा शिक्षाको अध्ययन–अध्यापन सुरु गर्ने उद्देश्यसहित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना र सञ्चालनको तयारी तीव्र गतिमा अघि बढिरहेको छ ।


