EduPress
'

अनुशासनको नाममा कपाल मुण्डन नगर्न काठमाडौं महानगरको कडाइ

Author Image
शुक्रवार, पौष ३, २०८२
Text Size:

काठमाडौं । विद्यार्थीको आत्मसम्मान र मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने विद्यालयभित्रको कपाल मुण्डन तथा जथाभावी कपाल काट्ने अभ्यास रोक्न काठमाडौं महानगरपालिकाले मातहतका सबै विद्यालयलाई निर्देशन दिएको छ।

महानगरको शिक्षा विभागले सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई परिपत्र जारी गर्दै अनुशासनका नाममा विद्यार्थीमाथि गरिने शारीरिक तथा मानसिक यातनाजन्य गतिविधि बन्द गर्न सचेत गराएको हो। पछिल्लो समय केही विद्यालयमा छात्रहरूको कपाल लामो भएको बहानामा विद्यालय परिसरमै जथाभावी मुण्डन गरिदिने गरिएको गुनासो आएपछि यस्तो निर्देशन जारी गरिएको महानगरले जनाएको छ।

महानगरका निमित्त शिक्षा विभागीय प्रमुख केशव ज्ञवालीद्वारा हस्ताक्षरित परिपत्रमा शिक्षा नियमावली, २०५९ को कानुनी प्रावधान स्मरण गराइएको छ। नियमावलीको नियम २५ ९ट० अनुसार विद्यालय व्यवस्थापन समितिले विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहिता बनाउने व्यवस्था रहेको र नियम १३३ ९१० ९ट० ले विद्यार्थीलाई कुनै पनि प्रकारको शारीरिक वा मानसिक यातना दिन नपाइने स्पष्ट व्यवस्था गरेको उल्लेख गरिएको छ।

महानगरले विद्यालयलाई अनुशासन कायम गर्ने नाममा विद्यार्थीको व्यक्तित्व, आत्मसम्मान र मानसिक स्वास्थ्यमा चोट पुग्ने कार्य नगर्न आग्रह गर्दै कानुनअनुसारको आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खबर