काठमाडौँ । सामाजिक विषयका पाठ्यपुस्तकहरू अब बालमैत्री, लैङ्गिक संवेदनशील र समाजको विविधतालाई प्रतिबिम्बित गर्ने गरी परिमार्जन हुने भएका छन् । सरकारले कक्षा ५, ८ र १० का सामाजिक विषयका पाठ्यपुस्तक परिमार्जन प्रक्रिया अघि बढाएको छ, जसलाई वि.सं. २०८४ सालदेखि कार्यान्वयनमा ल्याइने तयारी गरिएको छ ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले राजधानीमा आयोजित ‘बालबालिका, पाठ्यक्रम र पाठ्यपुस्तकबिचको तादात्म्यता’ विषयक अन्तरक्रियामा बोल्दै नयाँ पाठ्यपुस्तक निर्माण गर्दा सरोकारवाला निकायसँग छलफल र लेखकहरूको अभिमुखीकरण अनिवार्य गरिने जानकारी दिए । उनले विविधताबिच एकता खोज्ने, राष्ट्रियताको भावना विकास गर्ने, जिम्मेवार नागरिक निर्माण गर्ने तथा असल समाजका मूल्यहरू समेट्ने विषयलाई प्राथमिकतामा राखिने बताए ।
अन्तरक्रिया कार्यक्रम सेभ द चिल्ड्रेन र शिक्षा पत्रकार समूहको संयुक्त आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा शिक्षा पत्रकार समूहले हाल प्रयोगमा रहेका पाठ्यपुस्तकहरूको सूक्ष्म अध्ययन प्रतिवेदन प्रस्तुत गरेको थियो । प्रतिवेदनमा पाठ्यपुस्तकहरू बालमैत्री तथा लैङ्गिकमैत्री छन् कि छैनन्, अपाङ्गता भएका बालबालिका र यौनिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व कसरी गरिएको छ तथा भाषाको प्रयोग कत्तिको समावेशी छ भन्ने विषय समेटिएको छ ।
कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक हरि निरौलाले नेपाली समाज बहुलवादी भएकाले कक्षाकोठामै समाजको प्रतिनिधित्व हुने बताए। पाठ्यसामग्री दक्ष र विज्ञ व्यक्तिबाट विभिन्न चरण पार गर्दै निर्माण गरिने र हरेक पाठलाई समावेशी बनाउने प्रयास भइरहेको उनको भनाइ थियो।
कार्यक्रममा शिक्षाविद् डा. विद्यानाथ कोइरालाले पाठ्यपुस्तक तयार गर्नुअघि समाजमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिहरूको सूची तयार गर्न सुझाव दिए । आवश्यकता अनुसार पाठ्यक्रम र पाठ्यपुस्तक दुवैमा समयसापेक्ष परिवर्तन गर्न सकिने उनको भनाइ थियो ।
कार्यक्रममा शिक्षा पत्रकार समूहले हाल प्रयोगमा रहेका पाठ्यपुस्तकहरूको अध्ययन प्रतिवेदन प्रस्तुत गरेको थियो। डा होमराज आचार्यले प्रस्तुतिकरण गर्दै पाठ्यपुस्तकमा अपाङ्गता भएका व्यक्ति तथा यौनिक अल्पसंख्यक समुदायलाई कसरी सम्बोधन गरिएको छ र भाषाको प्रयोग कस्तो छ भन्ने विषयमा सूक्ष्म विश्लेषण गरेका थिए । बिभेदरहीत र बालबालिकामैत्री नरहेका विषयवस्तु सो अवसरमा औल्याइएको थियो ।




