EduPress
'

स्विट्जरल्यान्ड पार्कमा नेरामावि पूर्व विद्यार्थी समाजको पहिलो साधारण सभा

Author Image
सोमवार, पौष ६, २०८२
Text Size:
  • जगत वाशिष्ठ

काठमाडौँ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, तारकेश्वर–११, नेपालटारको पूर्व विद्यार्थी समाजको पहिलो साधारण सभा, विशिष्ट पूर्व विद्यार्थी सम्मान तथा वनभोज कार्यक्रम  स्विट्जरल्यान्ड सम्पन्न भएको छ ।

साधारण सभाबाट तदर्थ समिति विघटन गरी शैक्षिक सत्र ५७ का रामराजा ओझाको अध्यक्षतामा १९ सदस्यीय पहिलो निर्वाचित कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ । अध्यक्ष ओझाको कार्यकाल २०८२ देखि २०८५ सम्म तीन वर्षे रहने समाजले जनाएको छ । विभिन्न पेशा र फरक–फरक ब्याचका पूर्व विद्यार्थीहरूको प्रतिनिधित्व हुने गरी कार्यसमिति गठन गरिएको छ ।

विक्रम संवत् २०८१ सालमा पूर्व विद्यार्थीहरूलाई एकताबद्ध गर्दै विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति र पुरस्कार उपलब्ध गराउने उद्देश्यका साथ पूर्व विद्यार्थी समाज विधिवत् दर्ता भई सञ्चालनमा आएको हो । समाजले अल्पकालीन तथा दीर्घकालीन योजनामार्फत विद्यालयको शैक्षिक उन्नतिमा योगदान पु¥याउने लक्ष्य लिएको जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि विद्यालयका पूर्व शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रवर ध्वज थापा रहेका थिए । विशिष्ट अतिथिहरूमा पूर्व शिक्षकहरू गिरीराज पोखरेल, योगेन्द्र पौडेल र योगेन्द्र शाह रहेका थिए । साथै कान्छा महर्जन, परमेश्वर श्रेष्ठ, अर्जुनप्रसाद पराजुली, अजित जङ्ग पराक्रम सिंह तथा विद्यालयका सबैभन्दा पुराना विद्यार्थी रामगोपाल खत्रीको समेत उपस्थिति रहेको थियो ।

यस वर्षदेखि समाजले ‘विशिष्ट पूर्व विद्यार्थी सम्मान’ प्रदान गर्ने परम्पराको थालनी गरेको छ । सो अवसरमा व्याच ४७ की पूर्व विद्यार्थी तथा माननीय न्यायाधीश शर्मिला बिष्ट थापालाई विद्यालय र समाजको नाम तथा प्रतिष्ठा उच्च बनाउन पु¥याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रामराजा ओझाले पूर्व विद्यार्थीहरूलाई एकताबद्ध गर्दै उनीहरूबाट प्राप्त सहयोग विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक विकासमा लगानी गर्नु समाजको मुख्य उद्देश्य रहेको स्पष्ट पारे ।

कार्यक्रममा २०० भन्दा बढी शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा पूर्व विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सोही अवसरमा अध्यक्ष ओझा, प्रमुख तथा विशिष्ट अतिथिहरूले संयुक्त रूपमा पूर्व विद्यार्थी समाज अंकित व्याचको अनावरण गर्नुका साथै तदर्थ समितिमा रही समाज स्थापनामा विशेष योगदान पु¥याउने सदस्यहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

साधारण सभाबाट सर्वसम्मत रूपमा चयन भएका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई समाजले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर