EduPress
'

सामुदायिक विद्यालय सुधार्ने नयाँ उपाय, डिजिटल अनुगमन सुरु

Author Image
मङ्गलवार, पौष ७, २०८२
Text Size:

रूपन्देही । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यले लुम्बिनी सांस्कृतिक नगरपालिकाले डिजिटल अनुगमन प्रणाली लागू गरेको छ। शिक्षकको उपस्थिति, कक्षा सञ्चालन र पठन-पाठनको अवस्थालाई प्रत्यक्ष निगरानी गर्न नगरपालिकाले सिसिटिभी क्यामेरामार्फत अनुगमन सुरु गरेको हो। पालिकाभरका विद्यालयको निगरानी नगरपालिकाबाटै गर्ने गरी याे व्यवस्था लागु गरिएकाे नगरपालिकाले जनाएकाे छ ।

विद्यालय समयमा शिक्षक स्कुल नपुग्ने, बीचमै छाडेर हिँड्ने, विद्यालयमै रहे पनि कक्षा नजाने तथा विद्यार्थीप्रति जिम्मेवार नदेखिएको गुनासो बढेपछि नगरपालिकाले कडाइ गर्ने नीति लिएको हो। यसअनुसार नगरभित्रका नौवटा माध्यमिक विद्यालयमा सिसिटिभी क्यामेरा जडान गरी शिक्षा शाखाबाटै निगरानी गरिँदै आएको छ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिप्रसाद ज्ञवालीका अनुसार क्यामेराबाट शिक्षकहरूको गतिविधि मात्र होइन, कक्षाकोठाभित्र भइरहेको पढाइ र छलफलसमेत अडियो प्रणालीमार्फत सुन्न सकिने व्यवस्था गरिएको छ। यसले शिक्षकलाई नियमित, उत्तरदायी र अनुशासित बनाउने अपेक्षा गरिएको उनले बताए।

डिजिटल अनुगमन प्रणाली सञ्चालनका लागि चालू आर्थिक वर्षमा नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। निमित्त नगरप्रमुख कल्पना हरिजनले शैक्षिक सुधारलाई नगरपालिकाको प्रमुख प्राथमिकतामा राख्दै प्रविधिको प्रयोगमार्फत नतिजा सुधार गर्ने लक्ष्य लिइएको बताइन्।

विगतमा सामुदायिक विद्यालयको नतिजा कमजोर भएको र विशेषगरी कक्षा ७, ८, ९ र १० को शैक्षिक उपलब्धि सन्तोषजनक नरहेको गुनासो आएपछि यो प्रणाली लागू गरिएको प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले जानकारी दिइन्। उनका अनुसार शिक्षक तथा कर्मचारीको कार्यसम्पादन दैनिक रूपमा कार्यालयमै बसेर अनुगमन गर्न सकिने भएकाले जिम्मेवारी बोध बढ्ने विश्वास गरिएको छ।

शिक्षाको अवस्था चिन्ताजनक रहेको स्वीकार गर्दै ज्ञवालीले दुई वर्षअघि कक्षा ८ को अन्तिम परीक्षामा शून्य उत्तीर्ण भएपछि नगरपालिकाका सामुदायिक विद्यालयहरूले कक्षा ९ मा भर्ना लिने विद्यार्थीसमेत नपाएको स्मरण गरिन्। पछि शिक्षकहरूले सुधारको प्रतिबद्धता जनाएपछि फेल भएका विद्यार्थीलाई पनि उत्तीर्ण गराएर कक्षा ९ मा भर्ना गरिएको थियो।

नगरपालिकाले वडा नं. १ खुनगाईको बुद्ध आदर्श माध्यमिक विद्यालयदेखि वडा नं. १२ को आमा माध्यमिक विद्यालयसम्मका नौवटा माध्यमिक विद्यालयमा सिसिटिभी क्यामेरा जडान गरिसकेको छ। नगरपालिकाभित्र हाल ९ वटा माध्यमिक, १३ वटा निम्न माध्यमिक र १० वटा प्राथमिक गरी कुल ३२ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन्।

डिजिटल अनुगमन प्रणालीमार्फत शैक्षिक अनुशासन र गुणस्तर दुवैमा सुधार आउने अपेक्षा नगरपालिकाले गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खबर