- जगत वाशिष्ठ
काठमाडौं । बुटवलस्थित एभरेष्ट इङ्लिस बोर्डिङ माध्यमिक विद्यालयले सांस्कृतिक महोत्सवका क्रममा दुई साना विद्यार्थीलाई दुलाहा-दुलही बनाएर विवाह संस्कारको मञ्चन गराएको घटनाप्रति तीव्र विरोध सुरु भएको छ । विद्यालय परिसरमै आयोजना गरिएको उक्त कार्यक्रममा स्कूलमा पढ्ने बालबालिकालाई विवाह गराइएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यसको चौतर्फी आलोचना भएको हो ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको करिब एक मिनेट ४० सेकेन्ड भिडियोमा विवाह मण्डप सजाइएको छ । पूजाका सम्पूर्ण सामग्री सजाएर राखिएको छ । साना विद्यार्थीलाई बेहुला-बेहुलीको भेषमा सजाएर वैदिक विधिअनुसार विवाह संस्कार गराइएको देखिन्छ । भिडियोमा कन्यादान, स्वयंबर, मंगल मन्त्र उच्चारण, सम्धी भेटघाट, दुलही विदाइ र दुलही बनेकी बालिकालाई रुनसम्म सिकाइएको दृश्य देखिन्छ । कार्यक्रम माइक र साउन्ड सिस्टमसहित औपचारिक रूपमा सञ्चालन गरिएको सुनिन्छ ।
यस घटनाप्रति आपत्ति जनाउँदै लेखक तथा महिला अधिकारकर्मी सुशिला शर्माले सामाजिक सञ्जालमा लेखेकी छन्, “यो त कार्वाही गर्नुपर्ने कार्यक्रम रहेछ। बाल बिबाह गर्न कानुनी बन्देज छ। बाल बिबाहकाे फोटो त नराखौ भनेर बहस हुन थालेको बेला छ । बाल बिबाहलाइ प्रोत्साहन गरे जस्तो पाे देखियो । विवाह संस्कार बिवाह गर्ने उमेरमै सिक्छ्न, वयश्क भएपछि । कन्यादान लगायतका कार्यक्रमसहित यस्ता कृयाकलापले संस्कृति सिकाउने होइन कि परिमार्जन गर्नुपर्ने कुरालाई पनि पछाडि धकेल्छ। विद्वानहरुको विद्यालयले के सिकाएको यस्तो ? नेपालमा हिन्दु संस्कारको मात्रे विवाह हुँदैन । संस्कार सिकाएकै कुरा गर्ने हो भने पनि। बिद्यालयमा रमिता देखाउने ? अरु विषय नै भएनन र ?”
त्यसैगरी पत्रकार एसोदा अधिकारीले शिक्षामन्त्री महावीर पुन र सञ्चारमन्त्री जगदिश खरेल लगायतलाई सामाजिक सञ्जालमा मेन्सन गर्दै लेखेकी छन्, “विवाह कुनै खेल हुन सक्दैन सत्य हो भने यस्तो गराउनेलाई कारवाही होस् । माननीय मन्त्रीज्यूहरु ।”
त्यसैगरी रत्नराज्य लक्ष्मी क्याम्पसका उपप्राध्यापक डा. हरिप्रसाद सिलवालले “यो गलत लाग्यो” भन्दै प्रतिक्रिया दिएका छन् । सुर्खेतका समाजसेवी दिनेश पंगाली, नेतृ हरिमाया शर्मा आशा, तथा वीरन्द्र बहुमुखी क्याम्पस सुर्खेतका पूर्व स्ववियु सभापति यामराज शर्माले पनि यसलाई गलत ठहर गर्दै कारबाहीको माग गरेका छन् ।
धम्बोझी माध्यमिक विद्यालयकी पूर्व प्रधानाध्यापक किरण आचार्यले यसलाई “हिन्दु संस्कृतिमाथिको उपहास” भनेकी छन् । अर्का एक शिक्षकले भनेका छन्, “सानै उमेरका बालबालिकालाई विवाहको अभिनय गराउनु, प्रेम–प्रणयका गीतमा अभिनय गराउनु र विवाहलाई मनोरञ्जन बनाउनु सामाजिक अपराध सरह हो ।”
नेपालको कानुनअनुसार २० वर्ष नपुगी विवाह गर्न नपाइने स्पष्ट व्यवस्था छ । कानुनविद्हरूका अनुसार उमेर नपुगेका बालबालिकालाई विवाह गराउने, वा त्यसमा संलग्न हुने पुरोहितसमेत कानुनी दायरामा पर्न सक्छन् । आलोचकहरूले यस्तो गतिविधिले ती बालबालिकाको भविष्यमा सामाजिक र मानसिक असर पर्न सक्ने चिन्ता पनि व्यक्त गरेका छन् ।
यस विषयमा प्रतिक्रिया दिँदै रूपन्देही शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखले आफूलाई हालै मात्र जानकारी प्राप्त भएकाले घटनाबारे बुझ्ने बताएका छन् । बुटवल उपमहानगरपालिकाको शिक्षा शाखा र जिल्ला प्रहरी कार्यालयले पनि विषयबारे जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्ने जनाएका छन् ।
उता, विद्यालयका प्रधानाध्यापक कृष्ण न्यौपानेले विद्यालयको वार्षिक क्यालेन्डरअनुसार विभिन्न संस्कार र संस्कृतिको परिचय दिन सांस्कृतिक कार्यक्रमहरू समावेश गरिएको र यसै क्रममा विवाह संस्कार देखाइएको बताएका छन् । “कानुनी पक्ष यति गहिरो रूपमा नसोचिएको स्वीकार्छु,” उनले भने, “म कार्यक्रमको दिन विद्यालयमा थिइनँ, संयोजक अर्कै शिक्षक हुनुहुन्थ्यो ।”
बालबालिकालाई यौन शिक्षा समेत सिकाउन खोजिएको हो ? भन्ने प्रश्नमा प्रधानाध्यापक न्यौपानेले त्यसलाई अस्वीकार गरे । उनले भने, “विशुद्ध सामाजिक परम्परा देखाउने उद्देश्य मात्र थियो ।” । नियामक निकायले छानबिन गरेमा विद्यालय प्रशासन सहयोग गर्न तयार रहेको उनले बताए ।


