पाल्पा । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको आङ्गिक क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पामा स्नातक तहमा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई लक्षित गर्दै स्वागत कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस स्ववियुको आयोजनामा बिहीबार विभिन्न सङ्कायका प्रथम वर्षका विद्यार्थीलाई औपचारिक रूपमा स्वागत गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख डा. टंकप्रसाद पन्थले शिक्षाको महत्व र यसको दीर्घकालीन प्रभावबारे चर्चा गर्दै अनुशासन, लगनशीलता र निरन्तर अभ्यासमार्फत उज्ज्वल भविष्य निर्माण गर्न विद्यार्थीलाई प्रेरित गरे । उनले शिक्षा नै सफल र सभ्य समाज निर्माणको मूल आधार भएको उल्लेख गरे ।
स्वागत कार्यक्रममा स्नातक तहमा अध्ययनका लागि आएका विद्यार्थीलाई टीका, पुष्पगुच्छा र उपहार प्रदान गरिएको थियो । शब्द, सिर्जना, सङ्गीत तथा नृत्यमार्फत आत्मीय स्वागत गरिएको कार्यक्रममा सांस्कृतिक प्रस्तुति पनि समावेश गरिएको थियो । स्ववियु उपाध्यक्ष सन्तोष गहतराजले उपस्थित सम्पूर्ण अतिथिलाई स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन मिस्मा राना र विचन्द्र रायमाझीले गरेका थिए ।
कार्यक्रममा विशेष अतिथिका रूपमा निवर्तमान क्याम्पस प्रमुख टंकप्रसाद भट्टराई र पूर्व क्याम्पस प्रमुख जीवनबहादुर थापाले विद्यार्थीलाई उत्साहवर्द्धक मन्तव्य दिँदै शैक्षिक यात्रामा सफलता हासिल गर्न शुभकामना व्यक्त गरे ।
त्यसैगरी कार्यक्रममा क्याम्पस कार्यसमिति सदस्यहरू, सहायक क्याम्पस प्रमुख सन्तोष खनाल, श्रीचन्द्र शाक्य र चन्द्रबहादुर थापा, विद्यार्थी कल्याण प्रमुख पुष्कर आचार्य, बि.बि.ए./बि.बि.एम. निर्देशक केशव घिमिरे, प्राध्यापक सङ्घ इकाई अध्यक्ष शारदा प्रसाद भट्टराई, कर्मचारी सङ्घ इकाई अध्यक्ष डुकुलराज ढकाललगायत विभिन्न विद्यार्थी सङ्गठनका अध्यक्ष तथा प्रतिनिधि, प्राध्यापक, कर्मचारी र विद्यार्थीको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रम त्रिभुवन बहुमुखी क्याम्पस स्ववियु अध्यक्ष मिलन घर्ती मगरको अध्यक्षतामा सम्पन्न भएको हो ।


