EduPress
'

सामुदायिक विद्यालयको वित्तीय अनुशासन सुदृढ गर्न पानको लेखा व्यवस्थापन तालिम

Author Image
बिहिवार, पौष १६, २०८२
Text Size:
  • जगत वाशिष्ठ

काठमाडौं । सामुदायिक विद्यालयलाई पारदर्शी, उत्तरदायी र व्यवस्थित बनाउने उद्देश्यसहित प्रधानाध्यापक संघ नेपाल (पान) ले विद्यालयका प्रधानाध्यापक तथा लेखा शाखामा कार्यरत शिक्षक–कर्मचारीका लागि लेखा व्यवस्थापनसम्बन्धी विशेष तालिम सञ्चालन गरेको छ।

काठमाडौं महानगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक र लेखा जिम्मेवारीमा रहेका कर्मचारी सहभागी तालिममा बागमती प्रदेश तालिम केन्द्रका रोस्टर प्रशिक्षक विष्णुप्रसाद ज्ञवालीले सहजीकरण गरेका थिए। तालिममा विद्यालयको आर्थिक प्रशासनलाई प्रभावकारी बनाउने उपाय, विद्यमान कानुनी व्यवस्था, व्यवहारमा देखिने चुनौती तथा समाधानका व्यवहारिक पक्षबारे गहन छलफल गरिएको थियो।

प्रशिक्षक ज्ञवालीले प्रत्येक विद्यालयले आर्थिक वर्षको सुरुवातमै अनिवार्य रूपमा बजेट निर्माण गर्नुपर्नेमा जोड दिँदै खर्चलाई स्पष्ट बजेट शीर्षकअनुसार व्यवस्थित गर्न सके विद्यालयको वित्तीय प्रणाली मजबुत हुने बताए। बजेट शीर्षकहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार तय गरिएका हुँदा यसले विद्यालयको लेखा प्रणालीलाई विश्वसनीय र पारदर्शी बनाउने उनको भनाइ थियो।
तालिममा नेपाल सरकारबाट प्राप्त अनुदान र विद्यालयका आन्तरिक स्रोतबाट संकलित रकमको छुट्टाछुट्टै लेखा परीक्षण गर्नुपर्ने, बजेट शीर्षक स्वीकृत गराउनुपर्ने अनिवार्य रहेको जानकारी गराइएको थियो।

यसैगरी, विद्यालयमा सामग्री खरिद गर्दा विद्यालय व्यवस्थापन समितिको निर्णय अनिवार्य गर्नुपर्ने, आवश्यकता अनुसार खरिद समिति गठन गर्ने, लागत अनुमान तयार गर्ने, कोटेशन सिलबन्दी, खरिद सूचना प्रकाशन, छनोट निर्णय र मूल्यांकन प्रतिवेदनजस्ता प्रक्रिया पूर्ण रूपमा पालना गर्नुपर्ने विषयमा पनि स्पष्ट निर्देशन दिइएको थियो। कुनै पनि वस्तु वा सेवाको खरिद गर्न वर्षको सुरुमै सेवा प्रदायकहरुकाे सूची दर्ता गरेकोे हुनुपर्ने र सूचीकृत कम्पनी मध्येबाट तीन वटा काेटेशन लिएर खरिद गर्नुपर्ने उनले बताए । साे क्रममा उनले विद्यालयहरुमा बेरुजु बढिरहेकाे बताउँदै प्रक्रियामा काम गर्न नजान्दा बेरुजु हुने बताए । १ लाख ९९ हजारमाे काम गर्दा १ हजारकाे मात्र बिल छुटेमा वा नपुगेमा त्याे सबै बेरुजु देखिने भएकोले यस्ता प्रक्रिया पूरा गरेर काम गरेमा सहज हुने उनको भनाइ थियाे ।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले विद्यालय लेखा व्यवस्थापनसँग सम्बन्धित विविध अनुभव र जिज्ञासाहरू साझा गर्दै अन्तरक्रिया गरेका थिए। पानले यस्ता तालिममार्फत सामुदायिक विद्यालयको सुशासन र गुणस्तरीय व्यवस्थापनमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

कार्यक्रममा पानका केन्द्रीय अध्यक्ष सुदाम प्रसाद गाैतम, वरिष्ठ उपाध्यक्ष हेरम्वराज कँडेल, महासचिव लक्ष्मण श्रेष्ठ लगायतका पदाधिकारीहरु, शिक्षा विकास तथा समन्वय इकाइ, काठमाडौंका बरिस्ठ अधिकृत कृष्ण कुमार श्रेष्ठ, काठमाडौं महानगरपालिकाका शिक्षा विभागका अधिकृत इन्द्र दाहाल, नेपाल शिक्षक महासंघ समिति, काठमाडौं महानगरपालिकाका अध्यक्ष राजेन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खबर