- जगत वाशिष्ठ
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत मानविकी तथा सामाजिकशास्त्र संकायले उच्च तहको अनुसन्धानलाई प्रणालीगत र गुणस्तरीय बनाउने उद्देश्यसहित दर्शनाचार्य (M.Phil) तहका शोधार्थीहरूका लागि अनुसन्धान लेखनसम्बन्धी अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ ।
डीनको कार्यालयद्वारा आयोजना गरिएको उक्त कार्यक्रम शैक्षिक वर्ष २०८०/०८१ मा M.Phil तहमा भर्ना भई विद्यावारिधि समूह अन्तर्गत तेस्रो सेमेस्टरमा अध्ययनरत शोधार्थीहरूलाई लक्षित गरिएको हो । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा ५३ जना शोधार्थीको सहभागिता रहेको डीनको कार्यालयले जनाएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा मानविकी तथा सामाजिकशास्त्र संकायका निमित्त डीन डा. बामदेव अधिकारीले अनुसन्धानलाई केवल शैक्षिक औपचारिकता नभई ज्ञान उत्पादनको जिम्मेवारीका रूपमा लिनुपर्नेमा जोड दिए । उनले शोधार्थीहरूलाई अनुसन्धान विधि, साहित्यिक समीक्षा र शैक्षिक लेखनका समसामयिक मान्यताबारे अद्यावधिक रहँदै पूर्ण रूपमा अनुसन्धान कार्यमै केन्द्रित हुन आग्रह गरे ।
अधिकारीका अनुसार विश्वविद्यालयस्तरको अनुसन्धानमा विधिगत स्पष्टता, सैद्धान्तिक आधार र मौलिक योगदान सुनिश्चित गर्न सकिएन भने शोधकार्य औपचारिक दस्तावेजमै सीमित हुने जोखिम रहन्छ । यही कारण अभिमुखिकरण कार्यक्रमलाई अनुसन्धान संस्कृतिको सुदृढीकरणतर्फको एक महत्वपूर्ण पहलका रूपमा लिइएको छ ।
कार्यक्रममा अनुसन्धान लेखन, अनुसन्धान विधि, सन्दर्भ व्यवस्थापन तथा साहित्यिक समीक्षासम्बन्धी विषयमा विषयगत सत्रहरू सञ्चालन भइरहेका छन् । अभिमुखिकरणका सहजकर्ताका रूपमा प्रा.डा. प्रेमसागर चापागाईं, प्रा.डा. माधवप्रसाद दाहाल, प्रा.डा. जीवलाल सापकोटा, प्रा.डा. रामप्रसाद ज्ञवाली, सहप्रा.डा. टिकाराम गौतम र सहप्रा.डा. भिमराज सुवाल रहेका छन् ।
विश्वविद्यालय तहमा बढ्दो शोधार्थी संख्या र गुणस्तरीय अनुसन्धानप्रति उठ्दै आएका प्रश्नहरूको सन्दर्भमा यस्तो अभिमुखिकरण कार्यक्रमलाई समयसापेक्ष र आवश्यक मानिएको छ । यसले शोधार्थीहरूलाई मात्र होइन, समग्र रूपमा नेपाली शैक्षिक अनुसन्धान प्रणालीलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।


