पाल्पा । त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाको नेपाली विभागले आयोजना गरेको सन्ध्याकालीन सिर्जनावाचन तथा साहित्यिक विमर्श कार्यक्रम केवल कविता वाचनमा सीमित रहेन, नेपाली साहित्यको वर्तमान अवस्था, स्रष्टाको भूमिका र समाजसँग साहित्यको सम्बन्धमाथि गम्भीर बहसको मञ्चसमेत बन्यो।
कार्यक्रमको उद्घाटन सन्दर्भसहित क्याम्पस प्रमुख डा. टंक पन्थले अतिथि तथा सहभागीहरूलाई स्वागत गर्दै सिर्जनात्मक चेतनाको निरन्तरतामा यस्ता विमर्श आवश्यक रहेको धारणा राखे। उद्घाटनसँगै प्रस्तुत गरिएको ‘सरस कविता लेख्न सकिन’ शीर्षकको छन्द कविताले कार्यक्रमको साहित्यिक वातावरणलाई औपचारिकताबाट सिर्जनात्मक उचाइतर्फ डोर्याएको थियो।
कार्यक्रमका अतिथि प्रा.डा. रामप्रसाद ज्ञवालीले साहित्यिक सिर्जनालाई केवल विद्वत् प्रदर्शनको विषय होइन, सामाजिक जिम्मेवारीसँग गाँसिएको कर्मका रूपमा व्याख्या गरे। “जब व्यक्तिभित्र तेज र गुरुत्व हुँदैन, तब ‘हुनु’ सामान्य बन्छ,” भन्ने उनको भनाइले स्रष्टाको आन्तरिक क्षमतामाथि प्रश्न उठायो। उनले ‘विद्वान्’ भन्ने अवधारणामाथि व्याप्त भ्रमतर्फ संकेत गर्दै विगतका विचारलाई सन्दर्भसहित पुनःजोड्नु मात्र आजको बौद्धिक अभ्यास बनेको टिप्पणी गरे।
कविताको मूल्याङ्कन प्रचारप्रसारले होइन, ओचित्य र प्रभावले हुने तर्क राख्दै उनले भने, “सुनको होस् या माटोको, बत्ती बालिएपछि बत्ती नै हुन्छ।” कविलाई उनले हिमनदीसँग तुलना गर्दै स्रष्टाको त्याग, निरन्तरता र धैर्यको महत्व औँल्याए। समाजमा कविहरू बढे पनि समाज रूपान्तरण किन कमजोर देखिन्छ भन्ने प्रश्न उठाउँदै उनले चिन्तन र व्यवहारबीचको एकरूपतालाई कविको वास्तविक सफलता माने।
त्यसैगरी अर्का अतिथि प्रा.डा. देवी नेपालले पाल्पाको साहित्यिक पहिचान र ऐतिहासिक योगदानलाई स्मरण गर्दै कवितामार्फत जागरण सिर्जना गर्नु स्रष्टाको मूल धर्म भएको बताए। वाचन गरिएका कवितामाथि संक्षिप्त टिप्पणी गर्दै उनले कविहरूले आलोचनामात्र होइन, समाधान र सान्त्वनाका मार्ग पनि देखाउनुपर्ने धारणा राखे। उनले ‘समावेशी चेतनाको बुद्धको देश’ शीर्षकमा शार्दूलविक्रीडित छन्दको कविता प्रस्तुत गर्दै वैचारिक र कलात्मक संयोजनको उदाहरण पेश गरे।
कार्यक्रममा विभिन्न विधा र छन्दका रचनाहरू प्रस्तुत गरिनु अर्को उल्लेखनीय पक्ष रह्यो। साहित्यकार गोपालप्रसाद बस्यालको गद्यकविता, प्रेम खरालका टुक्रा कविताहरू, लक्ष्मी ज्ञवालीका पाल्पाको प्रकृति र भूगोल प्रतिबिम्बित लोकलयका कविता, डा. शंकरप्रसाद गैरेको सघन भावयुक्त गजल, महेन्द्रकुमार पन्थीको ‘पूजा त केवल मूर्तिको हुन्छ’ शीर्षकको गद्यकविता, रामदेव पाण्डेको ‘नेताजीको जय’ लोकलय कविता तथा तुलसीराम पोखरेलको पञ्चचामर छन्दको कविताले कार्यक्रमलाई बहुआयामिक बनायो।
कार्यक्रमको अध्यक्षता गर्दै निवर्तमान क्याम्पस प्रमुख तथा विभागीय अध्यक्ष टंकप्रसाद भट्टराईले प्रस्तुत रचनाहरूमा युगीन चेतना स्पष्ट देखिएको निष्कर्ष निकाले। साहित्य समाजको ऐना मात्र नभई मार्गदर्शक पनि हुनुपर्छ भन्ने भाव व्यक्त गर्दै उनले अतिथि साहित्यकार तथा सहभागी सबै स्रष्टाप्रति आभार प्रकट गरे।
नेपाली विभागीय अध्यक्ष तथा साहित्यकार महेन्द्र पन्थीको सहजीकरणमा सम्पन्न कार्यक्रममा सहायक क्याम्पस प्रमुखहरू, विद्यार्थी कल्याण प्रमुख, विभिन्न विभागका प्रमुख तथा प्राध्यापकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
साहित्यिक कार्यक्रम भए पनि यो भेटघाटले समसामयिक नेपाली साहित्यको दिशा, स्रष्टाको दायित्व र सिर्जनाको सामाजिक प्रभावबारे गहिरो विमर्श उठाएको स्पष्ट देखिन्थ्यो। यही कारण, कार्यक्रम सिर्जनावाचनभन्दा एक कदम अगाडि बढेर साहित्यिक आत्ममूल्याङ्कनको थलो बन्न सफल भयो।


