- जगत वाशिष्ठ
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) नियमित तालिकामा सम्पन्न हुन नपाउने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डका एसइई परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार जनकशिक्षा सामाग्री केन्द्रले मतपत्र छपाई कार्य सुरु गरेसँगै, आगामी चैत पहिलो सातामा सञ्चालन हुने योजना बनाइएको एसइई परीक्षा प्रभावित हुने अवस्था आएको हो।
अधिकारीले भने, “निर्वाचन र मतपत्र छपाईको कार्यलाई ध्यानमा राख्दै बोर्डले परीक्षा तालिका सार्वजनिक गर्न केही दिन ढिला गर्न सक्ने अवस्था छ ।”
राष्ट्रिय परीक्षा बोर्डको क्यालेन्डर अनुसार यश वर्षको एसईई परीक्षा चैत्र ७ गतेबाट सुरु हुने तय गरिएको थियो। तर, जनकशिक्षाले मतपत्र छपाई कार्यको लागि केही दिन समय मागेकोले प्रश्नपत्र छपाई ढिला हुने सम्भावना बढेको नियन्त्रक अधिकारीले बताए।
उनले बोर्डको बैठक माघ ५ गते बस्ने र निर्वाचनको प्रभावलाई ध्यानमा राख्दै परीक्षा तालिका केही दिन सार्ने निर्णय लिन सकिने जानकारी दिए । यस वर्षको एसइई परीक्षा ५ लाख १७ हजार विद्यार्थीले फारम भरेका छन् र ७२ विषयमा परीक्षा सञ्चालन हुनेछ।
जनकशिक्षा सामाग्री केन्द्रले मंगलबारदेखि नमुना मतपत्र छपाई कार्य सुरु गर्नेछ। यसपटक कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतपत्र छपाई गर्ने योजना छ। प्रत्यक्षतर्फ २ करोड ८ लाख र समानुपातितर्फ पनि २ करोड ८ लाख थान छपाई हुनेछ।
जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले भने, “मतपत्र, पाठ्यपुस्तक र एसइई प्रश्नपत्र तीनै छपाई कार्य सरकारी हुन्। पाठ्यपुस्तक फागुन मसान्तसम्म छपाई पूरा हुनेछ भने मतपत्र छपाई कार्यसँगै एसईई प्रश्नपत्र छपाई केही दिन ढिला हुन सक्छ।”
जनकशिक्षामा ४५० कर्मचारी कार्यरत छन् र चार वटा मेसिन तयारी अवस्थामा छन्। प्रथम चरणमा समानुपातिक मतपत्र छपाई पुस २२ देखि माघ ९ भित्र सक्ने योजना छ भने प्रत्यक्ष मतपत्र छपाई त्यसपछि सुरु हुने बताइएको छ ।


