EduPress
'

अत्यधिक चिसोका कारण कञ्चनपुरका तीन पालिकामा विद्यालय बन्द

Author Image
बुधवार, पौष २२, २०८२
Text Size:

कञ्चनपुर । लगातारको अत्यधिक चिसोका कारण जनजीवन प्रभावित बन्दै गएपछि कञ्चनपुरका तीन स्थानीय तहले सोमबारदेखि विद्यालयको पठनपाठन स्थगित गरेका छन्।

चिसो बढेपछि विद्यालय जाने बालबालिकालाई स्वास्थ्य जोखिम देखिएसँगै लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा अस्थायी रूपमा बिदा दिने निर्णय गरेका हुन्। स्थानीयका अनुसार चिसोका कारण विशेषगरी बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन्।

बेल्डाँडी गाउँपालिकाले सोमबारदेखि लगातार तीन दिन विद्यालय बन्द रहने गरी निर्णय गरेको जनाएको छ। यस्तै, बेलौरी नगरपालिकाले अत्यधिक जाडोले विद्यार्थी, शिक्षक तथा कर्मचारीको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै आगामी पुस २५ गतेसम्म जाडो बिदा दिएको नगरपालिकाका प्रवक्ता हर्कबहादुर भुलले जानकारी दिए।

लालझाडी गाउँपालिकाले पनि सूचना जारी गर्दै सञ्चित हिउँदे बिदाबाट कट्टा हुने गरी मङ्गलबार र बुधबार दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ। निरन्तरको चिसोका कारण कञ्चनपुर सदरमुकाम महेन्द्रनगरसहित जिल्लाका विभिन्न पालिकामा जनजीवन प्रभावित बनेको छ भने बजार क्षेत्रको चहलपहलसमेत उल्लेख्य रूपमा घटेको छ।

प्रतिक्रिया

सम्बन्धित खबर