EduPress
'

बच्चा बोकेर कक्षामा, समर्पणको पाठ पढाउँदै शिक्षिका

Author Image
बिहिवार, पौष २३, २०८२
Text Size:

बागलुङ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–२ स्थित श्री जनहित आधारभूत विद्यालय, काल्नेचौरको एउटा दृश्य अहिले धेरैका लागि प्रेरणाको स्रोत बनेको छ। कक्षाकोठामा चक समाउँदै पढाइरहेकी शिक्षिकाको ढाडमा भने आफ्नै सानो बच्चा छ- यो दृश्यले शिक्षाप्रतिको समर्पण र मातृत्वको ममतालाई एउटै फ्रेममा उतारेको छ।

तस्बिरमा देखिएकी शिक्षिका भाविका सिर्पाली हुन्। उनी बच्चालाई बोकेर पनि नियमित रूपमा विद्यालयमा उपस्थित भई विद्यार्थीहरूलाई पाठ पढाइरहेकी छन्। घरको जिम्मेवारी र विद्यालयको दायित्वलाई सँगसँगै वहन गर्दै उनले शिक्षिका केवल ज्ञान दिने व्यक्ति मात्र होइनन्, एक असल आमा र जिम्मेवार नागरिक पनि हुन् भन्ने सन्देश दिएकी छन्।

बालबालिकालाई पढाउँदै गर्दा आफ्नै शिशुलाई पनि सम्हाल्नु सजिलो काम होइन। तर शिक्षिका सिर्पालीको यो व्यवहारले दुर्गम क्षेत्रका शिक्षक-शिक्षिकाहरूले भोग्दै आएको वास्तविकता, चुनौती र त्यागलाई उजागर गरेको छ। सीमित स्रोत–साधन, पारिवारिक जिम्मेवारी र सामाजिक दबाबका बाबजुद पनि शिक्षाप्रतिको उनको अटल प्रतिबद्धता प्रशंसनीय देखिन्छ।

बच्चालाई बोकेर कक्षामा उभिएको यो दृश्य केवल एउटा तस्बिर मात्र होइन, नारी शक्ति, ममता र पेशागत निष्ठाको प्रतीक हो। यसले शिक्षण पेशाप्रति सम्मान बढाउनुका साथै महिला शिक्षिकाहरूको संघर्ष र योगदानलाई पनि उजागर गरेको छ।

यो तस्वीरले भन्छ- शिक्षा पढाउने काम समय, परिस्थिति वा जिम्मेवारीले रोकिने होइन; यो त समर्पण, साहस र प्रेमले निरन्तर अघि बढ्ने यात्रा हो।

प्रतिक्रिया

सम्बन्धित खबर