EduPress
'

कक्षा ११ र १२ को ललितकला पाठ्यक्रमबारे अन्तरक्रिया

Author Image
शुक्रवार, पौष २४, २०८२
Text Size:
  • जगत वाशिष्ठ

काठमाडौं । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुरले आयोजना गरेको ‘ललितकला पाठ्यक्रमसम्बन्धी अन्तर्क्रिया कार्यक्रम’ शुक्रबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालमा सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले संयुक्त रूपमा गरेका थिए। चालु शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा लागू गरिएको परिमार्जित पाठ्यक्रमअनुसार चित्रकला, व्यावहारिक कला, मूर्तिकला तथा कला इतिहास विषयको पठनपाठन सुरु भइसकेको सन्दर्भमा पाठ्यक्रमको प्रभावकारिता र कार्यान्वयन अवस्थाबारे सरोकारवाला विद्यालयका अध्यापकहरूसँग छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा बोल्दै कुलपति हार्तम्छालीले शिक्षामा कला र संस्कृतिलाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै शिक्षण प्रक्रियामा सांस्कृतिक मूल्यहरूको समावेश अनिवार्य रहेको बताए। उनले ललितकलाको दिगो विकासका लागि स्थानीय भाषा, इतिहास र मौलिक कलालाई पाठ्यक्रममा समेट्नुपर्नेमा जोड दिए।

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले देशभर ललितकला अध्ययन गराउने शिक्षण संस्थाहरूबीच संवाद सुदृढ गर्न तथा पठनपाठनको अवस्था बुझ्न यस्तो अन्तर्क्रिया कार्यक्रम उपयोगी हुने बताए। यस्तै, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले कक्षा ११ र १२ मा ललितकला विषयलाई सरल र प्रभावकारी ढंगले अध्यापन गर्न तथा ललितकला शिक्षाको महत्त्वबारे राष्ट्रियस्तरमा चेतना अभिवृद्धि गर्न कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले ललितकला नेपालको पहिचान र राष्ट्रिय गौरवसँग जोडिएको क्षेत्र भएको उल्लेख गर्दै यस क्षेत्रमा राज्यले गर्नुपर्ने कामका लागि कार्यक्रमले मार्गदर्शन प्रदान गर्ने धारणा राखे।

कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका सहसचिव दिनानाथ गौतम, काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्ट एन्ड डिजाइनका एसोसिएट प्रोफेसर सुजन चित्रकार, सिर्जना स्कुल अफ फाइन आर्ट्सका प्रिन्सिपल डा। बालकृष्ण रञ्जित, सहायक प्रिन्सिपल नविन्द्रमान राजभण्डारीलगायत विज्ञहरू तथा काठमाडौँ, भक्तपुर, ललितपुर र बुटवलका सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खबर