सिन्धुपाल्चोक । विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकमा एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने शिक्षक चौतारा साँगाचोकगढी नगरपालिका–१२ साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयमा कार्यरत जितराज गिरी हुन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार गिरीलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अनुसार म्याद थप गरी घटनाको अनुसन्धान अघि बढाइएको छ।
प्रहरीका अनुसार विद्यालय नजिकै सञ्चालन हुँदै आएको गिरीको निजी स्टेशनरी पसलमा गएको समयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार भएको आरोप लागेको हो। पीडित बालिकाले घटनाबारे आफन्तलाई जानकारी दिएपछि विषय प्रहरीसम्म पुगेको थियो।
पीडितका आफन्तले औपचारिक रूपमा जाहेरी दर्ता गरिसकेकाले अनुसन्धान प्रक्रिया तीव्र पारिएको प्रहरीले जनाएको छ। यता आरोपित शिक्षक गिरीले भने आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै ‘सामान्य माया भावमा गाला छोएको मात्र’ दाबी गर्दै आएका छन्।
घटनापछि बालिकाका अभिभावक विद्यालयमा पुगेर छलफल गरेका थिए। तर शिक्षकले आरोप अस्वीकार गरेपछि अवस्था तनावग्रस्त बन्दै गएको थियो। यही तनावको परिस्थितिलाई मध्यनजर गर्दै प्रहरीले आरोपित शिक्षकलाई नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।


