EduPress
'

भारतीय विश्वविद्यालयका उपाधिलाई त्रिविद्वारा समकक्षता नदिने निर्णय

Author Image
शनिवार, माघ २४, २०८२
Text Size:
  • जगत वाशिष्ठ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भारतका केही विश्वविद्यालयबाट प्रदान गरिएका शैक्षिक उपाधिलाई हालका लागि समकक्षता नदिने स्पष्ट पारेको छ। त्रिवि शिक्षाध्यक्षको कार्यालयअन्तर्गत रहेको पाठ्यक्रम विकास केन्द्रले सार्वजनिक सूचना जारी गर्दै ती विश्वविद्यालयहरूको मान्यता र कानुनी अवस्थाबारे जानकारी दिएको हो।

केन्द्रका कार्यकारी निर्देशकद्वारा जारी गरिएको सूचना अनुसार भारतीय विश्वविद्यालय अनुदान आयोग (UGC) ले सन् २०२३ डिसेम्बर २७ मा जारी गरेको सूचनामार्फत मेघालयस्थित टेक्नो ग्लोबल युनिभर्सिटी, शिलाङले कुनै पनि शैक्षिक प्रमाणपत्र जारी नगरेको उल्लेख गर्दै उक्त विश्वविद्यालयको मान्यता रद्द गरिएको जनाएको थियो।

यसैगरी, सन् २०२४ मा प्रकाशित अर्को सूचनामा मणिपुरस्थित संगाइ इन्टरनेशनल युनिभर्सिटीको मान्यता खारेज गरिएको जानकारी दिइएको छ। त्यस्तै, सन् २०२४ जनवरी १६ मा झारखण्डस्थित प्रज्ञान इन्टरनेशनल युनिभर्सिटीको मान्यता पनि रद्द गरिएको जनाइएको छ।

राजस्थानस्थित श्री जगदीशप्रसाद झाबरमल तिब्रेवाला युनिभर्सिटीमा भने सन् २०२५ देखि २०३० सम्म विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाइएको UGC को फेब्रुअरी १२, २०२४ को सूचनामा उल्लेख छ।

मेघालयकै सीएमजे युनिभर्सिटीको मान्यता UGC ले खारेज गरेपछि सम्बन्धित राज्य सरकारले विश्वविद्यालय विघटन गरिसकेको जनाइएको छ। सन् २०१४ पछि उक्त विश्वविद्यालयबाट प्रदान गरिएका शैक्षिक उपाधि भारतमा उच्च शिक्षा तथा सरकारी सेवाका लागि अमान्य ठहर गरिएका छन्।

पाठ्यक्रम विकास केन्द्रले ती विश्वविद्यालयबाट जारी गरिएका उपाधिको समकक्षता सम्बन्धमा आवश्यक छानबिन प्रक्रिया जारी रहेको र हाललाई समकक्षता प्रदान नगरिने जनाएको छ। साथै, अध्ययनका लागि विदेश जाने विद्यार्थी र अभिभावकलाई सम्बन्धित विश्वविद्यालयको आधिकारिक मान्यता र कानुनी अवस्थाबारे पर्याप्त जानकारी लिएर मात्रै निर्णय गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खबर