EduPress
'

प्रधानाध्यापकहरुका लागि नेपालगञ्जमा ट्रान्सभर्सल कम्पिटेन्सीसम्बन्धी चारदिने कार्यशाला सम्पन्न

Author Image
मङ्गलवार, माघ २७, २०८२
Text Size:

नेपालगञ्ज। नेपाल प्रधानाध्यापक सङ्घ (पान) र युनेस्को नेपालको सहकार्यमा चारदिने कार्यशाला नेपालगञ्जमा सफलतापूर्वक सम्पन्न भएको छ। २०८२ माघ २४ देखि २७ गतेसम्म नेपालगञ्जस्थित होटल सिद्धार्थमा आयोजित “Integrating Transversal Competency in Education” विषयक कार्यशाला नेपाल प्रधानाध्यापक सङ्घको आयोजना र युनेस्को नेपालको सहजीकरणमा भएको थियो।

कार्यशालामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट आएका प्रधानाध्यापकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल प्रधानाध्यापक सङ्घका केन्द्रीय अध्यक्ष सुदाम गौतम, महासचिव लक्ष्मण श्रेष्ठ र पानकाे केन्द्रीय कार्यालय सचिव सुशीला पौडेलको विशेष उपस्थिति रहेको थियो।

पानका केन्द्रीय अध्यक्ष सुदाम गौतमले कार्यशालाकाे उद्घाटन गरेका थिए । उदघाटन सत्रमा बाेल्दै उनले शिक्षालाई समयसापेक्ष, व्यवहारिक र जीवनसँग जोड्न ट्रान्सभर्सल कम्पिटेन्सीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे। त्यस अवसरमा महासचिव लक्ष्मण श्रेष्ठले कार्यशालाको उद्देश्य, संरचना तथा अपेक्षित उपलब्धिबारे प्रस्ट पार्दै सहभागितामूलक सिकाइको महत्वमाथि जोड दिएका थिए।

कार्यशालाको मुख्य उद्देश्य शिक्षामा आएका नवीन परिवर्तन, विश्व शिक्षा प्रणालीमा देखिएका नयाँ अभ्यास, सकारात्मक सोच, डिजिटल सीप, जिम्मेवारीबोध र आत्मानुभूतिको विकासलाई वर्तमान शिक्षण–सिकाइ प्रक्रियासँग एकीकृत गर्नु रहेको थियो। सो क्रममा विश्व शिक्षामा देखिएका नयाँ ट्रेन्डहरूलाई हालको पाठ्यक्रमसँग कसरी प्रभावकारी रूपमा समायोजन गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल गरिएको थियो।

कार्यशालामा सहभागी प्रधानाध्यापकहरूले शिक्षालाई जीवनोपयोगी बनाउने व्यावहारिक उपाय, विद्यालय तहमा गर्न सकिने पहल तथा प्रयासहरू, र पाठ्यक्रम कार्यान्वयनमार्फत विद्यार्थीको जीवनमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे अनुभव आदान–प्रदान गरेका थिए। तीनै प्रदेशबाट आएका प्रधानाध्यापकहरूले आफ्ना विद्यालयमा भइरहेका अभ्यास, नवप्रयोग र प्रयास प्रस्तुत गर्दै कार्यक्रमलाई थप समृद्ध बनाएका थिए।

कार्यक्रमकै क्रममा बाँके जिल्लाको राँझामा अवस्थित आदर्श माध्यमिक विद्यालयमा विद्यालय अवलोकन तथा नमुना कक्षा सञ्चालन गरिएको थियो। सहभागीहरूलाई छ समूहमा विभाजन गरी नेपाली, अङ्ग्रेजी र सामाजिक अध्ययन विषयमा ट्रान्सभर्सल कम्पिटेन्सीलाई वर्तमान पाठ्यक्रमसँग जोड्दै नमुना कक्षाहरू प्रस्तुत गरिएको थियो।

यस अवसरमा विद्यालयको अवस्था, चुनौती र सम्भावनाबारे विद्यालयका प्रधानाध्यापक प्रकाश आचार्यसँग अन्तरक्रिया गरिएको थियो। प्रधानाध्यापक आचार्यले सम्पूर्ण सहभागी, प्रशिक्षक तथा युनेस्को नेपालको टोलीलाई स्वागत गर्दै नमुना कक्षामा प्रस्तुत अवधारणाहरू आगामी दिनमा विद्यालयमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेपाल प्रधानाध्यापक सङ्घका केन्द्रीय अध्यक्ष सुदाम गौतमले विद्यालयको आतिथ्यप्रति आभार व्यक्त गर्दै यस्ता अभ्यासले शिक्षालाई अझ व्यवहारिक, प्रभावकारी र जीवनोपयोगी बनाउने विश्वास व्यक्त गरे। साथै मिति २०८२ माघ २६ गतेका सत्रहरूलाई अझ सान्दर्भिक र प्रभावकारी बनाउँदै आगामी दिनमा यस्ता कार्यक्रमहरू व्यवस्थित रूपमा सञ्चालन गरिने स्पष्ट पारे।

कार्यक्रमको अन्त्यमा नेपाल प्रधानाध्यापक सङ्घ लुम्बिनी प्रदेशका महासचिव होमराज खड्काले कार्यशालाको समग्र सान्दर्भिकतामाथि प्रकाश पार्दै यस्ता कार्यक्रमहरूले प्रधानाध्यापकहरूको नेतृत्व क्षमता, सिकाइ संस्कार र शैक्षिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए। उनले सम्पूर्ण सहभागीहरूको तर्फबाट नेपाल प्रधानाध्यापक सङ्घ र युनेस्को नेपालप्रति हार्दिक धन्यवाद व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खबर