पोखरा । पोखरा महानगरपालिका–७ स्थित मदरल्याण्ड माविका केही विद्यार्थीहरूले अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुने नमूना सभामा भाग लिन जाने भएका छन्। पाँच दिनसम्म चल्ने यो सम्मेलनमा विद्यालयका ६ जना विद्यार्थी सहभागि हुने भएका हुन्।
विद्यालयका प्लस–टु इन्चार्ज नारायण आचार्यका अनुसार, प्राचार्य डा. नारायण बरालको नेतृत्वमा विद्यार्थी र शिक्षकहरूको टोली आइतबार अमेरिका प्रस्थान गर्ने तयारीमा छ। उनीहरूले विश्वव्यापी विषयमा बहस र छलफल गर्ने अवसर पाउनेछन्।
यो अवसर विशेष पनि छ, किनभने नेपालबाट उक्त नमूना सभामा मदरल्याण्ड मात्र चयन भएको छ। आचार्यले भने, “विद्यालयमै नमूना अभ्यास गरिन्छ तर यसपटक विद्यार्थी आफैं अन्तर्राष्ट्रिय स्तरमा सहभागि हुने मौका पाएका छन्। यो उनीहरूको लागि अत्यन्तै महत्वपूर्ण अनुभव हुनेछ।”
सभामा सहभागी हुने विद्यार्थीहरूको छनोट विद्यालयमा गरिएको नमूना अभ्यासको आधारमा भएको हो। यसमा प्राचार्य बरालसँगै शिक्षक बामनकुमार घिमिरे र विद्यार्थी कृपा बराल, अभिक कर्ण, एल्भिना बराल, निजोल पौडेल, बिबेश बराल र दिव्या पराजुली रहनेछन्। सम्मेलनमा ५० भन्दा बढी देशका करिब २ हजार विद्यार्थीले भाग लिने अनुमान गरिएको छ।
डा. बरालका अनुसार, सम्मेलनमा सहभागी विद्यार्थीले संयुक्त राष्ट्रसंघको कार्य प्रणाली बुझ्ने, अन्तर्राष्ट्रिय मुद्दामा विचार आदान–प्रदान गर्ने र नेतृत्व, कूटनीतिक बहस, लेखन तथा विश्लेषण क्षमता विकास गर्ने अवसर पाउनेछन्।
विद्यार्थी कृपा बराललाई पनि विभिन्न कमिटिमा मन्तव्य दिने अवसर दिइएको छ। आचार्यले थपे, “यस सभाले विद्यार्थीहरूलाई तार्किक बहस, तथ्यमा आधारित विश्लेषण र विश्वव्यापी घटनाक्रमको ज्ञान दिनेछ। साथै, विश्वका आफ्नै उमेर समूहका साथीहरूसँग सम्बन्ध निर्माण गर्ने अवसर पनि प्राप्त हुनेछ। यस्तो अनुभव सबैले पाउँदैनन्।”


