काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले शिक्षकलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिम दिने भएको छ।
नवनिर्वाचित अध्यक्ष युवराज शर्माले पत्रकार सम्मेलन गरी कक्षा ९ देखि १२ सम्म अध्यापन गराउने ५० हजार शिक्षकलाई एआई तालिम दिने लक्ष्य रहेको महत्वाकांक्षी योजना सार्वजनिक गरेका हुन । शर्माले देशभरका करिब १० हजार विद्यालयका प्रत्येकबाट पाँच-पाँच शिक्षकलाई तालिम दिने तयारी गरिएको बताएका छन्।
सरकारसँग सहकार्य गरी सार्वजनिक विद्यालयका शिक्षकलाई समेत कार्यक्रममा समेट्ने योजना रहेको र यस विषयलाई राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा स्पष्ट रूपमा समावेश गर्नुपर्ने हिसानको याेजना रहेकाे अध्यक्ष शर्माले जनाएका छन्।
अध्यक्ष शर्माका अनुसार हिसानले विद्यालय, उच्च तथा प्राविधिक शिक्षामा प्रणालीगत सुधार, शिक्षा ऐनहरूको शीघ्र जारी, निजी शिक्षाको लगानी सुरक्षाको प्रत्याभूति र उच्च शिक्षालाई स्वायत्तता प्रदान गर्ने नीतिगत व्यवस्था गर्न दलहरूलाई सुझाव दिएको छ। उनले उच्च शिक्षामा बढ्दो राजनीतीकरणका कारण विद्यार्थी पलायन बढेको उल्लेख गर्दै स्वदेशमै गुणस्तरीय स्नातक तह अध्ययनको वातावरण बनाउनुपर्नेमा जोड दिए।
पत्रकार सम्मेलनमा हिसानका महासचिव रामहरि सिलवालले निजी शिक्षालयहरूले कुल शिक्षाको झण्डै एकतिहाइ हिस्सा ओगटेको उल्लेख गर्दै सुरक्षित र स्पष्ट कानुनी वातावरण आवश्यक रहेको बताए।
हिसानले संगठन सुदृढीकरण र शिक्षा सुधारका लागि निर्देशक, सल्लाहकार तथा प्राज्ञिक अनुसन्धान परिषद् गठन गरी काम अघि बढाएको जनाएको छ।


