EduPress
'

त्रिवि शिक्षाशास्त्र संकायद्वारा शिक्षकहरूका लागि ‘पेसागत क्षमता अभिवृद्धि तालिम’ घोषणा

Author Image
शुक्रवार, फागुन ७, २०८२
Text Size:
  • जगत वाशिष्ठ

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शिक्षाशास्त्र संकायले आंगिक तथा QAA प्रमाणित सम्बन्धन प्राप्त क्याम्पसका पूर्णकालीन शिक्षकहरूका लागि ‘शिक्षक पेसागत क्षमता अभिवृद्धि कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। विश्वविद्यालयले सार्वजनिक गरेको सूचनाअनुसार ७५ घण्टे यो तालिम विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग तथा त्रिवि योजना निर्देशनालयको समन्वयमा सञ्चालन गरिनेछ।

संकायका अनुसार तालिम विशेषगरी सक्षमतामा आधारित शिक्षालाई केन्द्रमा राखेर तयार गरिएको छ। कार्यक्रममा सहभागी हुने शिक्षकहरूले सहभागीमूलक तथा नवीन शिक्षण विधि, शिक्षण र सिकाइमा मूल्याङ्कन, डिजिटल प्रविधि तथा ई–लर्निङ, शिक्षा र कार्य जगतबीचको सम्बन्ध तथा लेखन तथा प्रकाशनसम्बन्धी विषयमा प्रशिक्षण प्राप्त गर्नेछन्।

सूचना अनुसार यस कार्यक्रममा शिक्षाशास्त्र संकाय अन्तर्गतका आंगिक तथा QAA प्रमाणित क्याम्पसमा कार्यरत पूर्णकालीन शिक्षकहरूले मात्र आवेदन दिन सक्नेछन्। यसअघि PCEP कार्यक्रममा सहभागी नभएका शिक्षकहरूलाई प्राथमिकता दिइने जनाइएको छ। तालिम भौतिक (आवासीय) तथा अनलाइन दुवै माध्यमबाट सञ्चालन हुने भएकाले सहभागीमा आधारभूत कम्प्युटर सीप आवश्यक हुने र सहभागीले आफ्नै ल्यापटप लिएर आउनुपर्ने व्यवस्था गरिएको छ।

इच्छुक शिक्षकहरूले २०८२ फागुन २३ गते कार्यालय समयभित्र अनलाइन आवेदन दिनुपर्नेछ। आवेदनका लागि संकायको आधिकारिक वेबसाइट www.tufoe.edu.np
वा https://foe.tu.edu.np मार्फत फारम भर्न सकिनेछ।

संकायका डीन प्रा. डा. वेदराज आचार्यद्वारा हस्ताक्षरित सूचनाअनुसार पहिलो समूहको तालिम आगामी चैत्र महिनाको दोस्रो हप्तादेखि सुरु हुने छ। तालिम सञ्चालन हुने स्थानबारे विस्तृत जानकारी भने पछि सार्वजनिक गरिने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खबर