EduPress
'

गेटामा ७७ पदका लागि आवेदन खुल्यो, स्वास्थ्य विज्ञानको पढाइ सुरु गर्ने तयारी

Author Image
शुक्रवार, फागुन ७, २०८२
Text Size:

धनगढी । कैलालीको गेटामा स्थापना गरिएको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मा चाँडै नै चिकित्सा शिक्षाको पढाइ सुरु हुने तयारी अघि बढेको छ। विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि शैक्षिक कार्यक्रम सञ्चालन गर्ने लक्ष्यसहित अध्यापनका लागि आवश्यक जनशक्ति भर्ना प्रक्रिया सुरु गरेको हो।

यसैक्रममा विश्वविद्यालयले प्राध्यापक, सह–प्राध्यापक र उप–प्राध्यापक पदका लागि कुल ७७ जनाको आवेदन खुला गरेको जनाएको छ। खुलाइएको सूचनाअनुसार २६ जना प्राध्यापक तथा सह–प्राध्यापक र ५१ जना उप–प्राध्यापक पदमा करार सेवामार्फत पदपूर्ति गरिनेछ। इच्छुक योग्य उम्मेदवारलाई फागुन १४ गतेसम्म आवेदन दिन आग्रह गरिएको छ।

विश्वविद्यालयका विभिन्न विषयमा अध्यापन सुरु गर्ने तयारी भइरहेकाले एनाटोमी, फिजियोलोजी, प्याथोलोजी, माइक्रोबायोलोजी, बायोकेमिस्ट्री, कम्युनिटी मेडिसिन, फरेन्सिक मेडिसिन, फार्माकोलोजी, नर्सिङ, इन्टरनल मेडिसिन, ईएनटी, जनरल सर्जरी, एनेस्थेसियोलोजी, डर्माटोलोजी, डेन्टल सर्जरी, पेडियाट्रिक्स, रेडियोलोजी, साइकियाट्री, अर्थोपेडिक्स, जनरल प्राक्टिस, अप्थाल्मोलोजी र मेडिकल एजुकेसनलगायत विषयमा शिक्षक भर्ना गरिने जानकारी दिइएको छ।

विश्वविद्यालय प्रशासनका अनुसार अबको शैक्षिक सत्रदेखि एमबीबीएस, बीएससी एमएलटी, बीएससी नर्सिङ लगायतका कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ। यद्यपि, औपचारिक रूपमा अध्ययन सुरु गर्नका लागि चिकित्सा शिक्षा आयोगबाट अनुमति प्राप्त हुनुपर्ने बताइएको छ।

यसअघि पुस महिनाको तेस्रो सातामा विश्वविद्यालयले नेतृत्व पनि पाएको थियो। विश्वविद्यालय सभाको बैठकले उपकुलपतिमा प्रा.डा. सुनिलकुमार जोशी र रजिस्ट्रारमा डा. खेमराज जोशी लाई नियुक्त गरेपछि संस्थागत काम अघि बढेको हो।

गेटामा झण्डै सात अर्ब रुपैयाँको लागतमा निर्माण गरिएको विश्वविद्यालयको पूर्वाधार दुई वर्षअघि नै तयार भइसकेको थियो। सञ्चालनको मोडालिटीबारे लामो समयसम्म अन्योल रहे पनि सम्बन्धित ऐन प्रतिनिधिसभाबाट पारित भई गत असार ४ गते नेपाल सरकारको राजपत्रमा प्रकाशित भएपछि विश्वविद्यालय सञ्चालनका प्रक्रिया तीव्र भएका हुन्। अब शिक्षक नियुक्ति र आवश्यक स्वीकृतिपछि गेटामा चिकित्सा शिक्षाको पढाइ सुरु हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खबर