चितवन । प्रधानाध्यापक संघ नेपाल (पान) केन्द्रीय समितिकाे आयाेजनामा विद्यालय शिक्षामा व्यवहारकुशल सीप र बहुआयामिक दक्षता समावेश गर्ने विषयमा केन्द्रित तीन दिने कार्यशाला सम्पन्न भएको छ। चितवनको चर्चित पर्यटकीय केन्द्र सौराहामा सम्पन्र भएकाे प्रधानाध्यापकहरूकाे कार्यशाला युनेस्काे काठमाडाैं अफिसले सहयाेग गरेकाे थियाे ।
विद्यालय शिक्षाको पाठ्यक्रमले व्यवहारकुशल सीप (Soft Skill) लाई महत्त्वपूर्ण स्थान दिएको भए पनि विद्यालय तथा शिक्षकहरूले निर्माण गर्ने योजना र अभ्यासमा त्यसलाई पर्याप्त रूपमा समेट्न नसकिएको अवस्थालाई ध्यानमा राख्दै कार्यशालाको आयोजना गरिएको पानका केन्द्रीय अध्यक्ष सुदाम प्रसाद गाैतमले जानकारी दिए । उनले कार्यशालामा आगामी दिनमा विद्यालयको शिक्षण सिकाइ प्रक्रियामा Soft Skill र Transversal Competency लाई प्रभावकारी रूपमा समावेश गर्ने विषयमा छलफल, अनुभव आदानप्रदान तथा कार्ययोजना निर्माण गरिएको जानकारी दिए ।
कार्यक्रममा कोशी, मधेस, गण्डकी र बागमती प्रदेशका विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागी प्रधानाध्यापकहरूले विद्यालयमा विद्यार्थीहरूको व्यवहारिक सीप, नेतृत्व क्षमता, सञ्चार सीप तथा सहकार्यको संस्कार विकास गर्न यस्ता कार्यक्रम उपयोगी हुने बताएका थिए ।
कार्यक्रममा पानका केन्द्रीय अध्यक्ष सुदामप्रसाद गाैतम, महासचिव लक्ष्मण श्रेष्ठसहितका केन्द्रीय पदाधिकारीहरूकाे पनि उपस्थिति रहेको थियो। आयोजकले कार्यशालामा सक्रिय सहभागिता जनाउने सबै प्रधानाध्यापकहरूलाई धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यालय शिक्षालाई अझ व्यवहारमुखी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।



