EduPress
'

निर्वाचन अधिकृतको जिम्मेवारी अस्वीकार गर्दै निर्वाचन आयोगप्रति प्रधानाध्यापकले जनाए आपत्ति

Author Image
आइतवार, फागुन ९, २०८२
Text Size:

धादिङ । धादिङका एक प्रधानाध्यापकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफूलाई खटाइएको जिम्मेवारी नलिने भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन्।

नीलकण्ठ नगरपालिका–११, धादिङकाे शंखादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक नित्यानन्द सुवेदीले आफूलाई तल्लाे तहकाे कर्मचारीकाे मातहतमा खटाइएकाे भन्दै उक्त जिम्मेवारी अस्वीकार गरेका हुन । उनले नेपाल सरकारकाे नवाै तहकाे कर्मचारीलाइ छैटाै तहकाे कर्मचारी मातहतमा खटाउने निर्णयप्रति अाश्चर्य समेत प्रकट गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, धादिङबाट प्रकाशित निर्वाचनमा खटिने कर्मचारीको विवरणमा सुवेदीको नाम त्रिपुरासुन्दरी गाउँपालिका–४ को एक मतदान केन्द्रमा सहायक मतदान अधिकृतका रूपमा सिफारिस गरिएको थियाे । साे कुरा थाहा पाएपछि सुवेदीले यसबारे औपचारिक आपत्ति जनाएका हुन्।

निवेदनमा उनले आफू माध्यमिक द्वितीय श्रेणीकाे प्रधानाध्यापकका रूपमा कार्यरत रहेको र सहायक मतदान अधिकृतकाे जिम्मेवारी आफ्नो पदीय मर्यादाअनुकूल नभएको बताएका छन्। साथै सरकारी तहगत संरचनाअनुसार तल्लो तहअन्तर्गत खटाइएको जस्तो देखिने निर्णयले आफ्नो आत्मसम्मानमा चोट पुगेको उल्लेख गर्दै सो जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको जनाएका छन्।

सुवेदीले यस विषयमा सम्बन्धित निकायले पुनर्विचार गरी नियमअनुसार निर्णय गर्न आग्रह समेत गरेका छन्। निर्वाचन कार्यालयले भने यस विषयमा आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।

यसअघि नेपाल शिक्षक महासंघले देशभरका शिक्षकहरूलाई निर्वाचनमा खटाउँदा तह र श्रेणीको सम्मान नगरेकोप्रति गम्भीर आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको थियो। महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले एक विज्ञप्ति जारी गर्दै शिक्षकहरूलाई दिइएको जिम्मेवारीले पेशागत मर्यादामा आघात पुगेको बताएका थिए ।

महासङ्घले विभिन्न जिल्लाबाट शिक्षकहरूलाई उनीहरूले अध्यापन गरिरहेको तह, श्रेणी र अनुभवलाई ध्यान नदिई कनिष्ठ तहको जिम्मेवारी दिइएको उल्लेख गरेकाे थियाे ।शिक्षकहरूको तहअनुसार जिम्मेवारी दिनका लागि पटक पटक आग्रह गरिए पनि सम्बोधन नभएको बताउँदै महासंघले पेशागत सम्मानको विषयमा भने सम्झौता गर्न नसकिने जनाएकाे थियाे । विज्ञप्तिमा शिक्षकहरूको तह, श्रेणी र मर्यादामा आघात पुग्ने गरी दिइएका जिम्मेवारी पूरा गर्न शिक्षकहरू बाध्य नहुने चेतावनीसमेत दिइएको थियाे ।

महासङ्घले निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न शिक्षकहरू तयार रहेको उल्लेख गर्दै शिक्षकहरूको आत्मसम्मान र पेशागत गरिमालाई ध्यानमा राखेर जिम्मेवारी निर्धारण गर्न निर्वाचन आयोगसँग माग गरेको थियाे ।

याे समाचार पनि हेर्नुहाेस

निर्वाचनले शिक्षकको मर्यादामा आघात पुगेको भन्दै नेपाल शिक्षक महासङ्घको आपत्ति

प्रतिक्रिया

सम्बन्धित खबर