EduPress
'

प्रअमाथि दुर्व्यवहारको नेपाल शिक्षक महासंघद्वारा निन्दा

Author Image
आइतवार, वैशाख १२, २०८३
Text Size:

काठमाडौं । नेपाल शिक्षक महासंघले ओखलढुंगामा भएको एक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले विज्ञप्ति जारी गर्दै शिक्षकमाथि भएको अपमानजनक व्यवहारको कडा शब्दमा निन्दा गरेको हो।

गत फागुन २१ गते सम्पन्न संघीय प्रतिनिधि सभाकाे निर्वाचनबाट निर्वाचित सांसद विष्णुराज पौडेलले २०८३ वैशाख १० गते ओखलढुंगाको चण्डेश्वरी माध्यमिक विद्यालयमा पुगेर प्रधानाध्यापक सन्तबहादुर मगरमाथि अपमानजनक र असहज व्यवहार गरेका थिए। उक्त घटनाले शिक्षकको पेशागत मर्यादा र शैक्षिक वातावरणमाथि गम्भीर आघात पुगेको महासंघको ठहर छ।

विज्ञप्तिमा जनप्रतिनिधिबाटै यस प्रकारको व्यवहार हुनु दुःखद भएको उल्लेख गर्दै यसले सम्पूर्ण शिक्षक समुदायको मनोबल खस्काउने काम गरेको जनाइएको छ। साथै, विद्यालयजस्तो संवेदनशील स्थानमा गरिने यस्ता गतिविधिले शिक्षा क्षेत्रको गरिमा घटाउने भन्दै महासंघले आपत्ति जनाएको छ।

महासंघले घटनामा संलग्न व्यक्तिलाई जिम्मेवार बन्न आग्रह गर्दै भविष्यमा यस्ता गतिविधि नदोहोर्‍याउन चेतावनी दिएको छ। साथै, शिक्षकहरूको पेशागत सम्मान र सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षा क्षेत्रको मर्यादा कायम राख्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ।

प्रतिक्रिया