काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार सम्हालेपछि शिक्षाको गुणस्तर सुधार र संस्थागत व्यवस्थापनका लागि तीन महत्वपूर्ण निर्देशन जारी गरेका छन्। मन्त्री पुनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना निर्देशन सार्वजनिक गरेका हुन्।
उनका अनुसार देशभरका सबै सामुदायिक माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई कम्प्युटर शिक्षाबाट वञ्चित हुन नदिन हरेक विद्यालयमा अनिवार्य रूपमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी थप्ने निर्णय गरिएको छ।
त्यस्तै, केही विश्वविद्यालयहरूले परीक्षा लिएर नतिजा प्रकाशित गर्न आठ महिना देखि एक वर्षसम्म लगाउने गरेको भन्दै उनले यस्तो ढिलाइ विद्यार्थीहरूका लागि अपूरणीय क्षति भएको बताए। मन्त्री पुनले अबदेखि विश्वविद्यालयहरूले परीक्षाफल बढीमा तीन महिनाभित्र अनिवार्य रूपमा प्रकाशित गर्नुपर्ने र त्यसो नगर्ने विश्वविद्यालयको अनुदान रोक्का गरिने चेतावनी दिएका छन्।
तेस्रो निर्देशनमा, उनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरभित्र रहेको ठूलो झाडी फाँडेर (ठूला रुखहरू नकटाई) सफाइ गरी बगैँचा र फुटपाथ निर्माण गरेर परिसरलाई आकर्षक र व्यवस्थित बनाउन आदेश दिएका छन्।


