भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले देशभरका विद्यालयहरूमा गुणस्तरीय सुधारका लागि ठूला निर्णयसहित स्पष्ट निर्देशन दिएका छन्। सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विस्तृत अवलोकनका क्रममा उनले विद्यालय सुधारका विभिन्न आयामबारे गहन छलफल गर्दै शिक्षक दरबन्दी, विद्यालय मर्जर, र प्रधानाध्यापक नियुक्ति प्रणालीमा ठोस कदम चाल्ने तयारी गरेको बताएका छन्।
तीन घण्टा लामो छलफलपछि मन्त्री पुनले शिक्षक दरबन्दीको समायोजन, विद्यार्थी संख्या न्यून भएका विद्यालयहरूको एकीकरण, र योग्य–सक्षम प्रधानाध्यापकहरूको पारदर्शी नियुक्ति सुनिश्चित गर्न देशव्यापी कार्यविधि तयार गर्न निर्देशन दिएका छन्, महानिर्देशक कृष्णप्रसाद काप्रीले जानकारी दिए।
मन्त्री पुनले अनलाइन सिकाइ, डिजिटल शैक्षिक सामग्री निर्माण र प्रयोगमा जोड दिँदै देशको शिक्षा प्रणालीलाई प्रविधिमैत्री बनाउन आवश्यक पहल गर्न सम्बद्ध निकायलाई आदेश दिएका छन्।
त्यसैगरी, उनले बुधबार पाठ्यक्रम विकास केन्द्रमा दुई घण्टा लामो छलफल गर्दै पाठ्यक्रम निर्माण र परिमार्जनमा गहिरो ध्यान दिन निर्देशन दिएका छन्। “सामुदायिक र संस्थागत विद्यालयका पाठ्यक्रम तयार गर्दा अत्यन्त गम्भीर हुनुपर्छ। पाठ्यपुस्तकमा नैतिक, व्यावहारिक, ऐतिहासिक र संवैधानिक ज्ञान समेटिनु जरुरी छ,” मन्त्री पुनले भने।
मातृभाषामा पाठ्यपुस्तक विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले आगामी शैक्षिक सत्रदेखि कक्षा ९ र १० मा कम्प्युटर विषयलाई १०० अंकको अनिवार्य विषयका रूपमा लागू गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।
शिक्षा क्षेत्रमा प्राविधिक र व्यावहारिक पक्ष सशक्त बनाउन मन्त्री पुनको यो पहललाई शैक्षिक सुधारतर्फको ठोस र दूरदर्शी कदमका रूपमा लिइएको छ।


