पोखरा । पोखराको फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालमा श्रम शोषणविरुद्ध आन्दोलनरत नर्सहरूका माग पूरा गर्नुको साटो अस्पताल प्रशासनले नयाँ कर्मचारी भर्ना प्रक्रिया सुरु गरेको छ। नर्सहरूलाई आन्दोलन छाड्न दबाब सिर्जना गर्ने उद्देश्यले आइतबार अस्पतालले नर्स, एचए, अनमी र सिएमएको नयाँ विज्ञापन खुलाएको नर्सहरूको आरोप छ।
दुई साताअघि आन्दोलन सुरु गरेका नर्सहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको न्यूनतम पारिश्रमिक १९ हजार ३०० रुपैयाँ समेत नपाएको, तलब समयमा नआउने, चाडपर्व तथा घर बिदा कटौती हुने, ओभरलोड काम गर्नुपर्ने, तालिम भत्ता नपाउनेजस्ता समस्या राख्दै ९ बुँदे मागसहित ११ असोजमा ज्ञापनपत्र बुझाएका थिए।
अस्पताल प्रशासनले एक साताभित्र माग सम्बोधन गर्ने सहमति गरे पनि समयसीमा सकिएपछि नर्सहरू पुनः २४ असोजदेखि आन्दोलित भएका हुन्।
आन्दोलनका क्रममा प्रशासनले अत्यावश्यक सेवा ऐनको दफा प्रयोग गर्दै नर्सहरूलाई काममा फर्किन निर्देशन दिएको र ‘कानुनी कारबाही’को चेतावनी दिएको नर्सहरूको भनाइ छ। “माग सम्बोधन गर्ने सट्टा प्रशासनले धम्कीपूर्ण भाषा प्रयोग गरेको छ,” एक नर्सले भनिन्।
अस्पतालका सूचना अधिकारीले भने विज्ञापन नियमित प्रक्रिया भएको दाबी गरेका छन्। उनका अनुसार “अस्पतालमा कर्मचारीको आवश्यकता अनुसार समय-समयमा विज्ञापन खुल्ने” भएकाले आन्दोलनसँग सम्बन्धित नभएको बताए।
आन्दोलनरत नर्सहरू र अस्पताल प्रशासनबीच आइतबार भएको वार्ता पनि निष्कर्षविहीन भएको छ। वार्तामा अस्पताल प्रशासन, आन्दोलित नर्सका प्रतिनिधि, नेपाल नर्सिङ संघका वरिष्ठ उपाध्यक्ष रमेश सुब्बा, युथ नर्स फेडरेसनकी संयोजक ज्योति रानाभाट, जिता बराललगायतको उपस्थिति थियो।
स्वास्थ्य मन्त्रालयको ०८१ मंसिर २७ र ०८२ असोज २४ का पत्रअनुसार, अस्पतालले नर्सहरूलाई सरकार सरहको न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउनुपर्ने प्रावधान छ। तर मणिपाल प्रशासनले सोअनुसारको व्यवस्था गर्न अस्वीकार गरेपछि वार्ता परिणामविहीन बनेको नर्सहरूले बताएका छन्।
मन्त्रालयको निर्देशनमा नर्सिङ तथा स्वास्थ्यकर्मीहरूलाई बैंकमार्फत तलब उपलब्ध गराउने, अतिरिक्त कामबापत भत्ता दिने, करार सम्झौता प्रणाली अपनाउने, ज्यालादारीमा काम गराउन नपाइने, र अनुभवपत्र उपलब्ध गराउनुपर्ने व्यवस्था उल्लेख छ।
तर मणिपालका नर्सहरूले भने “मन्त्रालयका निर्देशन र सहमति दुवै बेवास्ता गरिएको” आरोप लगाएका छन् र माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।


