EduPress
'

विद्यालय भवन भत्किएपछि विद्यार्थीहरू काठको टहरामा पढ्दै

Author Image
बिहिवार, असोज २३, २०८२
Text Size:

हुम्ला । सदरमुकाम सिमकोट गाउँपालिका–५ स्थित बालमन्दिर माध्यमिक विद्यालयका विद्यार्थीहरू अहिले अस्थायी काठको टहरामा पढ्न बाध्य भएका छन्। विद्यालयको पुरानो भवन भत्काइएपछि अन्य विकल्प नहुँदा विद्यालय प्रशासनले यही उपायमार्फत पढाइ सुचारु गरेको हो।

विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाका अनुसार घटस्थापनापछि पुरानो भवन भत्काइएपछि कक्षा तीनदेखि छसम्मका विद्यार्थीहरूको पठनपाठन निरन्तरता दिन काठ र जस्तापाताको टहरा निर्माण गरिएको हो। बुधबारदेखि सो टहरामा सबै विषयको पढाइ सुरु भएको उनले जानकारी दिए।

“कक्षाकोठा नहुँदा पढाइ बन्द गर्ने स्थिति आयो,” प्रअ रोकायाले भने, “विद्यार्थीहरूको अध्ययन प्रभावित नहोस् भनेर विद्यालयले व्यक्तिगत जग्गा भाडामा लिएर आफ्नै पहलमा अस्थायी टहरा तयार गरेको हो।”

विद्यालयसँग काठ र जस्ता पुरानो भवनमै रहेका सामग्री पुनः प्रयोग गरिएको भए पनि निर्माणका लागि आवश्यक खर्च विद्यालयले नै व्यहोर्नुपरेको उनको भनाइ छ। टहरा बनाउन ढिलाइ भएपछि असोज २१ गतेबाट सुरु हुनुपर्ने पढाइ दुई दिन ढिलो सुचारु गर्नुपरेको पनि उनले बताए।

हाल कक्षा सातदेखि दससम्मका विद्यार्थीहरू भने पुरानै कोठामा अध्ययन गरिरहेका छन्। विद्यालयले दुई बालविकास कक्षाका लागि अझै व्यवस्थापन गर्नुपर्ने बताएको छ।

प्रअ रोकायाले भने, “भवन भत्किएपछि पनि पठनपाठन रोकिएन, जेनतेन निरन्तरता दिन पाउँदा सन्तोष छ। अस्थायी समाधान भएको छ, अब नयाँ आरसिसी भवन निर्माण कार्य सुरु हुन लागेको छ।”

हाल विद्यालयमा चार सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। जाडो मौसम नजिकिँदै गएपछि टहराभित्र कपडा र बाहिर प्लास्टिक सिटको व्यवस्था गर्न सके विद्यार्थीलाई केही सहज हुने विद्यालयको भनाइ छ।

Views: 11

प्रतिक्रिया

सम्बन्धित खबर