काठमाडौँ । नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई विगतका सहमति र सरकारले गरेका निर्णय कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ।
महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा आज केशरमहल पुगेको टोलीले विद्यालय शिक्षा विधेयक पारित गर्ने तयारीमा संसद् विघटन भएपछि पनि सहमति कार्यान्वयनका विषयमा सरकार सक्रिय हुनुपर्ने माग राखेको हो।
गत वैशाख १७ गते मन्त्रिपरिषद्ले स्वास्थ्योपचारमा सहुलियत, अस्थायी र करार शिक्षकको बिदा भुक्तानी, प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकसम्बन्धी नौ बुँदे निर्णय गरेको थियो। महासङ्घले सो निर्णय कार्यान्वयनमा ढिलाइ, सरुवा कार्यविधि, करार नवीकरण र तलब रोकिएका विषयमा पनि मन्त्री पुनको ध्यानाकर्षण गराएको छ।
मन्त्री पुनले शिक्षकका पेसागत मागलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै शिक्षाको गुणस्तर सुधारका लागि शिक्षक दत्तचित्त भएर काम गर्नुपर्नेमा जोड दिए।


