उदयपुर । विद्यार्थी कुटपिटको आरोपमा त्रियुगा नगरपालिका–५ दमौटीस्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक राजन राउतलाई जिम्मेवारीमुक्त गरिएको छ।
कक्षा १० की छात्रा समीक्षा राईलाई आँखा र गाला सुन्निने गरी थप्पड हानेको घटनापछि विद्यालय व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो।
घटनापछि अभिभावक र स्थानीयवासीले तीव्र विरोध जनाएपछि समितिले आइतबारदेखि निरन्तर छलफल गरी सर्वसम्मत निर्णयमार्फत राउतलाई हटाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुबेर मगरले बताए।
सामाजिक विषय पढाउने क्रममा विद्यार्थीसँग सामान्य सवाल–जवाफकै क्रममा कुटपिटमा उत्रिनु अनुचित ठहर गर्दै उनलाई पदमुक्त गरिएको अध्यक्ष मगरको भनाइ छ।
राउतलाई हटाएपछि शिक्षक अङ्गधन राईलाई तत्कालका लागि विद्यालयको निमित्त प्रधानाध्यापकको जिम्मेवारी तोकिएको समितिले जनाएको छ।


