-जगत वाशिष्ठ
काठमाडौं । शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंले जिल्लाभित्रका सबै स्थानीय तहका शिक्षा शाखाहरूलाई कानुन बमोजिम मात्र योग्य उम्मेदवारलाई प्रधानाध्यापक तोक्न ताकेता गरेको छ।
काठमाडौं जिल्लाका ११ वटा स्थानीय तहअन्तर्गत करिब २६० भन्दा बढी सामुदायिक विद्यालय रहेका छन्। इकाइले यसअघि भदौ महिनामै सबै स्थानीय तहका शिक्षा तथा युवा शाखालाई पत्राचार गरी योग्यता पुगेका शिक्षकबाट मात्र प्रअ व्यवस्थापन गर्न निर्देशन दिएको थियो। तर, केही स्थानीय तह र विद्यालयहरूले सो निर्देशन कार्यान्वयन नगरेपछि पुनः ताकेता गर्नुपरेको जनाएकाे छ।
शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सन्तमणि आचार्यले २०८२ कार्तिक १२ गते च. नं. ५९६ मार्फत पठाइएको पत्रमा अघिल्लो पत्राचार (भदौ १३ गते, च. नं. २९२) को स्मरण गराउँदै कानुन विपरीत प्रअ तोक्ने कार्य रोक्न र योग्यता पुगेका शिक्षकबाट मात्र प्रअ तोक्न निर्देशन दिएइकाे छ।
केही विद्यालयहरूले अख्तियारको दुरुपयोग गरी योग्यता नपुगेका व्यक्तिलाई प्रधानाध्यापक तोकेको गुनासो अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालसम्म पुगेको बताइएकाे छ। अख्तियारले समेत यसबारे चासो देखाएपछि इकाइले पुनः सबै स्थानीय तहहरूलाई तत्काल कार्यान्वयनका लागि ताकेता गरेको हो।
इकाइ प्रमुख आचार्यले भने, “कतिपय विद्यालयमा योग्यता नपुगेका व्यक्तिहरूले पनि प्रधानाध्यापकको पद सम्हालेको देखिन्छ। केहीले निमित्त लेख्नुपर्ने ठाउँमा स्थायी प्रअ भनेर पदको दुरुपयोग गरेका छन्, जुन कानुनी रूपमा गलत हो।”
उनका अनुसार काठमाडौँ महानगरपालिकामा धेरैजसो विद्यालयमा कानुन बमोजिम प्रधानाध्यापक तोकिएको भए पनि सबै ठाउँमा याे पूर्ण रूपमा कार्यान्वयन भइसकेको छैन।
आचार्यले थप भने, “योग्यताविहीन व्यक्तिले प्रअ पद सम्हाल्नु अख्तियार दुरुपयोग हो। त्यसले शैक्षिक प्रणालीलाई दूषित बनाउँछ र विद्यालय व्यवस्थापनमा अनुशासन र पारदर्शिता हराउँछ।”
उता, काठमाडौँ महानगरपालिकाका शिक्षा विभाग अन्तर्गतका वरिष्ठ विद्यालय निरीक्षक धनकुमारी भण्डारीले काठमाडौं महानगरका ८७ सामुदायिक विद्यालयमध्ये अधिकांशमा कानुन बमोजिम प्रधानाध्यापक छनोट भइसकेको जानकारी दिएकी छन्। उनले बाँकी विद्यालयहरूमा पनि योग्यता पुगेका शिक्षकहरूको परीक्षा लिई प्रअ छनोटको प्रक्रिया अघि बढाइएको जानकारी दिइन।
कीर्तिपुर नगरपालिकाले पनि कानुनी व्यवस्था अनुसार प्रअ ताेक्न पत्राचार गर्ने तयारी गरेकाे छ । कीर्तिपुर नपाकाे शिक्षा शाखाका अनुसार यस नगरपालिकाका धेरै विद्यालयहरू निमित्तका भरमा चलेका छन् । नपा शिक्षा शाखाले शिक्षा ऐन अनुसार प्रअ व्यवस्थापन गर्न पत्राचार गरिने जनाएकाे छ ।
यस्ताे छ शिक्षा विकास तथा समन्वय इकाइकाे ताकेता चिठी:

शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंले कार्तिक १३ गते काठमाडौंका सबै सामुदायिक विद्यालयहरुलाई माध्यमिक तथा निम्न माध्यमिक तहको स्वीकृत दरवन्दीमा कार्यरत करार शिक्षक विवरण तथा रिक्त विवरण पठाउन पत्राचार गरेको थियो । इकाइले शिक्षकको विवरण अद्यावधिक गर्न भन्दै विवरण पठाउने ढाँचा समेत पठाएको थियो ।

त्यसैगरी गत भदौ १३ गते पनि इकाइले काठमाडौं महानगरसहित सबै पालिकाका शिक्षा विभाग तथा शाखाहरुलाई पत्राचार गरी प्रधानाध्यापकको नियुक्ति, कार्यकाल र व्यवस्थापन सम्बन्धमा शिक्षा नियमावलीको परिच्छेद १७ नियम ९३ वमोजिम गर्न गराउन भन्दै पत्राचार गरेको थियो ।



