काठमाडौँ । विभिन्न मागसहित सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा तालाबन्दी गरेका आन्दोलनकारीले ताला नखोल्ने अडान लिएका छन् ।
प्रधानाध्यापक व्यवस्थापन, विद्यालय समायोजन र दरबन्दी मिलानका विषयमा असन्तुष्टि जनाउँदै शिक्षाका सरोकारवालाले केही दिनअघि नगरपालिकामा तालाबन्दी गरेका थिए ।
नगरपालिकाले आन्दोलनरत पक्षलाई वार्तामा आउन औपचारिक आह्वान गरे पनि आन्दोलनकारीले ठोस कदम नचालिएको र समस्या समाधानप्रति नगरपालिका गम्भीर नभएको आरोप लगाएका छन् । उनीहरूले औपचारिक पहलका सट्टा सामाजिक सञ्जालमार्फत मात्र वार्ताको आह्वान गरिएको भन्दै असन्तोष प्रकट गरेका छन् ।
वार्ताका लागि तयार भएर पुगेका बेला नगरपालिकाले ‘पहिले ताला खोलेपछि मात्रै वार्ता’ भन्ने अडान लिएको र त्यसपछि आफूहरू वार्ता टेबलबाट फर्कन बाध्य भएको आन्दोलनकारीको भनाइ छ ।
यसैबीच, वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा प्रमुख धिरेन्द्र शर्माले असोज २७ गते नगर शिक्षा समितिबाट सम्बन्धित कार्यविधि तयार पारिएको र कार्तिक १२ गते नगर कार्यपालिकाबाट अनुमोदन भइसकेको जानकारी दिएका छन् । उनका अनुसार उक्त कार्यविधिअनुसार अब विद्यालय समायोजन, दरबन्दी मिलान र प्रधानाध्यापक व्यवस्थापनको प्रक्रिया अघि बढाइनेछ ।
वीरेन्द्रनगरमा हाल ६० सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन्, जसमा २५ माध्यमिक र ३५ आधारभूत विद्यालय पर्छन् । शिक्षा शाखाका अनुसार तीमध्ये केही विद्यालय समायोजनको प्रक्रिया र केहीमा दरबन्दी मिलान तथा प्रधानाध्यापक व्यवस्थापन कार्य सुरु गरिएको छ ।



