EduPress
'

प्रअ व्यवस्थापन र दरवन्दी मिलानसहितका माग गर्दै वीरेन्द्रनगर नपामा लगाएको ताला खुल्यो

Author Image
बिहिवार, कार्तिक २०, २०८२
Text Size:

सुर्खेत । प्रधानाध्यापक व्यवस्थापन, विद्यालय समायोजन र दरबन्दी मिलान लगायतका माग राखी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा लगाइएको तालाबन्दी खुलेको छ । आन्दोलनकारी र नगरपालिकाबीच वार्ता भई सहमति भएपछि आन्दोलनकारीले ताला खोलेका हुन् ।

शिक्षक संघ संस्थाहरुले नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखामा विभिन्न माग राखी जिल्लाका तालाबन्दी गरेका थिए । यसअघि नगरपालिकाले आन्दोलनरत पक्षलाई वार्तामा आउन औपचारिक आह्वान गरे पनि आन्दोलनकारीले ठोस कदम नचालिएको र समस्या समाधानप्रति नगरपालिका गम्भीर नभएको आरोप लगाएका थिए । नगरपालिकाले वार्ता बस्नुअघि ताला खोल्नुपर्ने अडान पनि लिएको थियो । त्यसप्रति आन्दोलनकारीले असहमति जनाएपछि सहमति भएपश्चात मात्र ताला खुलेको बताइएको छ ।

दुई पक्षबीच भएको सहमतिमा नगरपालिकामा लगाइएको तालाबन्दी खोल्ने र नगरपालिका नगर शिक्षा ऐन २०७४ को नगर शिक्षा समितिमा शिक्षक महासंघको प्रतिनिधित्व गराउने र विव्यसको कार्यक्षेत्रको सम्बन्धमा आवश्यक संसोधन गर्नका लागि आगामी नगरसभामा पेश गर्ने उल्लेख गरिएको छ । यो सहमतिलाई कतिपयले आन्दोलन गर्दा उठान गरिएको मागभन्दा बाहिर गएर सहमति गरिएको भन्दै असन्तुष्टि पनि जाहेर गरेका छन् ।

वार्तामा नगरपालिका तर्फबाट नगरप्रमुख मोहनमाया ढकाल, नगर उपप्रमुख निलकण्ठ खनाल, जिल्ला समन्यय समितिसुर्खेतका संयोजक गङ्गाराम सुनार, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटा, नगर शिक्षा शाखा प्रमुख धिरेन्द्रप्रसाद शर्मा सहभागी रहेका थिए । त्यस्तै आन्दोलनरत शिक्षकको तर्फबाट नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष सुरेन्द्र रावत, शिक्षक महासंघको वीनपाका अध्यक्ष तेजकुमारी चपाई, अखिल नेपाल शिक्षक संगठनका सुर्खेतका अध्यक्ष श्यामबहादुर वली, शिक्षक महासङ्घका केन्द्रीय सदस्य नवराज खड्का रहेका थिए ।

वीरेन्द्रनगर नगरपालिकाको अ‍सोज २७ गते नगर शिक्षा समितिबाट सम्बन्धित कार्यविधि तयार पारिएको थियो । साथै उक्त कार्यविधि कार्तिक १२ गते बसेको नगर कार्यपालिकाको बैठकबाट अनुमोदन पनि भइसकेको बताइएको छ । नगरपालिकाको शिक्षा शाखा प्रमुख धिरेन्द्र शर्माले उक्त कार्यविधिअनुसार अब विद्यालय समायोजन, दरबन्दी मिलान र प्रधानाध्यापक व्यवस्थापनको प्रक्रिया अघि बढाइने जानकारी पनि दिएका छन् ।

वीरेन्द्रनगरमा हाल ६० सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन्, जसमा २५ माध्यमिक र ३५ आधारभूत विद्यालय छन् । शिक्षा शाखाका अनुसार तीमध्ये केही विद्यालयकाे समायोजनको प्रक्रिया र केहीमा दरबन्दी मिलान तथा प्रधानाध्यापक व्यवस्थापन कार्य सुरु गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर